काभ्रेमा ‘उड्डयन व्यवस्थापन’ विषयमा शिक्षण गराइँदै

काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा ‘उड्डयन व्यवस्थापन’ (एभिएसन म्यानेजमेन्ट) विषयमा स्नातक तहको शिक्षण हुने भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु) स्कुल अफ म्यानेजमेन्टअन्तर्गत सिम्रिक भेञ्चर र सिद्धार्थ वनस्थली विद्यालयको साझेदारीमा पहिलोपटक यहाँ उक्त विषयमा शिक्षण हुने भएको हो ।

स्नातक तहको उक्त विषयमा यस वर्ष ३३ जना विद्यार्थी भर्ना गराइने जनाइएको छ । भेञ्चरका अध्यक्ष रामेश्वर थापाका अनुसार चार वर्षे उक्त तहमा उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्टलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्न ज्ञान र सीप प्रदान गरिने छ । “चार वर्षे स्नातक कार्यक्रम सञ्चालनपछि यस विषयमा अध्ययन गर्न बिदेसिनुपर्ने बाध्यता हट्नेछ”, उनले भने ।

यस्तै चार वर्षे स्नातक कार्यक्रममा उड्डयन कानुन तथा नियम, उड्डयन सुरक्षा, एयरपोर्ट योजना तथा व्यवस्थापन, उड्डयन मार्केटिङ, एयरलाइन अपरेसन, उड्डयन र अर्थशास्त्र, पर्यटकीय महत्त्व र मानव संसाधन व्यवस्थापनसहितका पाठ्यक्रम समावेश हुने जनाइएको छ । “यी पाठ्यक्रमले विमानसम्बन्धी गतिविधि प्रबन्ध गर्न व्यवहारिक प्रशिक्षण प्रदान हुनेछ”, थापाले भने ।

उनका अनुसार विद्यार्थीले जटिल परिस्थितिलाई कसरी व्यवस्थापन गर्ने तथा दबाबमा काम गर्ने तरिका र विभिन्न सरोकारवाला पक्षसँग प्रभावकारी रूपमा संवाद गर्ने विषयमा शिक्षण गराइनेछ । केयुका उपकुलपति डा भोला थापाले समयको मागअनुसार आफ्नो विस्तारित कार्यक्रमअन्तर्गत दक्ष जनशक्ति उत्पादन गर्न एभिएसन म्यानेजमेन्ट विषयमा स्नातक तहको शिक्षण सुरु गर्न लागिएको जानकारी दिए । “नेपालमा यो पहिलो प्रयास हो, हामी नेपालमा यस विषयमा दक्ष जनशक्ति उत्पादन गर्नेमा विश्वस्त छौँ”, उनले भने ।





Comments

comments

123763