सुरक्षित ठानिएको घर नै पुरिएपछि…

बागलुङ, बागलुङको बडिगाड गाउँपालिका–१० आरूपाटा गाउँका स्थानीय लगातारको वर्षाले त्रसित थिए। सोमबार साँझदेखि परेको भारी वर्षाबाट निम्तिन सक्ने विपद्को अनुमान लगाउँदै आरूपाटाका स्थानीयले सतर्कतासमेत अपनाएका थिए।

आरूपाटाका स्थानीय सोमबार बिहानै सुरक्षित घर खोज्दै छिमेकी जोगबहादुरको बुढाको घरमा पुगे। तर बिहान ११ बजेर २० मिनेट पुग्दा सुरक्षित भनेर स्थानीय जम्मा भएकै घरलाई पहिरोले बगायो।

पहिरोले जोगबहादुर बुढाको घर पुर्दा ६ जनाको मृत्यु भयो।

पहिरोमा चार जना अझै बेपत्ता रहेको आशंका रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए। उनका अनुसार घटनास्थल निकै दुर्गम स्थानमा भएका कारण प्रहरी चार घण्टापछि मात्रै उद्धारका लागि त्यहाँ पुगेको थियो।

बडिगाड गाउँपालिका–१० का वडाध्यक्ष वीरेन्द्रकुमार बुढामगरका अनुसार भारी वर्षापछि स्थानीय सुरक्षित स्थान खोज्दै जोगबहादुर बुढामगरको घरमा पुगेका थिए।

‘गाउँमा पहिराको जोखिम थियो, जोगबहादुर बुढाको घरभन्दा तलको घर पहिरोको जोखिममा रहेका कारण सुरक्षित घरमा बसेर बुर्तिवाङ जाने योजनाका साथ छिमेकी यस घरमा आएका रहेछन्,’ वडाध्यक्ष बुढामगरले घटनास्थलको दृश्य सम्झँदै भने, ‘जुन घर अलि सुरक्षित छ भनेर छिमेकी आएर जम्मा भएका थिए, त्यही घरलाई नै पहिरोले लग्यो। पहिरोले घरसहित गोठसमेत बगाएको छ। स्थानीयको सहयोगमा प्रहरी पुग्दा पाँच जनाको शव निकालिएको थियो। एक जनाको उद्धारपछि मृत्यु भएको थियो। अन्य बेपत्ताको खोजीका लागि प्रहरी र नेपाली सेना परिचालन भएको छ।’

घटनास्थल पुगेका प्रहरीले एउटै घरमा ठूलो मानवीय क्षति भएको र शवको पहिचान गर्दा एउटै घरका नभएर छिमेकी परेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय यादवका अनुसार आश्रय लिएको घर नै पहिरोले बगाएपछि ठूलो मानवीय क्षति भएको हो। केही पहिरोको जोखिम टार्न जोगबहादुर बुढाको घरमा आएका थिए भने केही बुर्तिवाङ जानलाई त्यस घरमा पुगेका थिए।

‘एउटै घरमा यति धेरै मानिस रहेछन्। फरकफरक समुदायका मानिस आश्रय लिन त्यस घरमा पुगेको पाइयो,’ यादवले भने, ‘त्यही घर नै पहिरोले पुर्दा ६ जनाको मृत्यु भएको छ, अन्य चार जना बेपत्ता रहेको स्थानीयले बताएका छन्। बेपत्ताको यकिन भएको छैन।’

प्रहरीका अनुसार मृत्यु हुनेमा बागलुङ जिल्लाको बडिगाड गाउँपालिका १० निवासी ७० वर्षीया देवी कामी, पाँच महिनाकी सीता विक, सात वर्षीय मालती बुढा, आठ वर्षीय अमल बुढा, ११ वर्षीया सीता पुन र घरधनी ७८ वर्षीय जोगबहादुर बुढा छन्।

पहिरोमा परेर नौ जना घाइते भएका छन्। घाइतेमा बडिगाड गाउँपालिका–१० बस्ने २६ वर्षीय ओमप्रकाश पुन, ४६ वर्षीय संगीत बुढा, २३ वर्षीया सिर्जना विक, ४३ वर्षीय मंगल सेन बुढा, १९ वर्षीया रिमा पुन, ६० वर्षीया सुमित्रा विक, ५१ वर्षीय शशिराम विक, नौ वर्षीय ज्ञाने बुढा र ३१ वर्षीया सीता थापा छन्।

घाइतेको बडिगाड गाउँपालिकाले पठाएको स्वास्थ्यकर्मीबाट प्राथमिक उपचार गरिएको छ।

घरधनी जोगबहादुर बुढाको जीवितै उद्धार गरे पनि एक घण्टापछि उनको मृत्यु भएको हो। पहिरोमा परी १० वर्षीय मनोज बुढा, तीन वर्षीय आरूष थापा, ६० वर्षीया मधु बुढा र ११ वर्षीय सुमन विक बेपत्ता भएको प्रहरीको भनाइ छ। रासस





Comments

comments

123880