लमजुङमा भीरबाट बस खस्दा एकै गाउँका नौको मृत्यु

लमजुङको तामाखानीमा यात्रुबाहक बस दुर्घटना हुँदा नौजनाको मृत्यु भएको छ । मध्यनेपाल नगरपालिका–५ तामाखानीमा ना.६ख ४१३६ नम्बरको बस बिहीबार साँझ भीरबाट तीन सय मिटर तल खसेको छ ।

नौजनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी नायब उपरीक्षक शम्भुप्रसाद ढकालले जानकारी दिए । मृत्यु हुनेमा मध्यनेपाल–१ का ३५ वर्षीय रमा गुरुङ, ५३ वर्षीय रामकृष्ण गुरुङ, उनकी पत्नी ४५ वर्षीया मीनाकुमारी गुरुङ छन् । त्यस्तै ८० वर्षीय खिममाया गुरुङ, ३६ वर्षीय राजेन गुरुङ, ४१ वर्षीय शेरबहादुर खवास, ३५ वर्षीय गणेश गुरुङ, एक वर्षीया सविना खवास र ३५ वर्षीय नारायण थापा छन् ।

बसमा सवार अरू नौजना गम्भीर घाइते भएका छन् । घाइतेलाई एम्बुलेन्समार्फत दमौली अस्पताल तनहुँ लगिएको उद्धारमा संलग्न ट्राफिक प्रहरी जवान कृष्ण विकले बताए । नयाँपत्रिका दैनिकमा खबर छ।

तनहुँको दमौलीबाट दुईपिप्ले, सोतीपसल हुँदै जिताकोटका लागि हिँडेको बस दुर्घटनामा परेको हो । बस साँझ ५ बजेतिर दुर्घटना भएको थियो । रात परेकाले उद्धारमा कठिनाइ भएको स्थानीयले बताए । प्रहरी र स्थानीयले घाइतेको उद्धार गरेका थिए ।

सहचालकले चलाएका थिए : यात्रु
सहचालकले चलाएका कारण बस दुर्घटना भएको घाइते यात्रुको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका सहचालकको उपचार भइरहेको छ । उनको नाम खुल्न नसकेको प्रहरीले जनाएको छ । बसचालक सुरज विक भने फरार छन् ।

मृतकहरू
रमा गुरुङ (३५), रामकृष्ण गुरुङ (५३), मीनाकुमारी गुरुङ (४५), खिममाया गुरुङ (८०), राजेन गुरुङ (३६), शेरबहादुर खवास (४१), गणेश गुरुङ (३५), सविना खवास (१) र नारायण थापा (३५)

मृत्यु हुने सबै एकै गाउँका
दुर्घटनामा मृत्यु हुने नौजना नै लमजुङको मध्यनेपाल नगरपालिका–१ जिताकोटका हुन् । मृत्यु हुनेमा ८० वर्षीया खिममाया गुरुङ र एक वर्षीया बालिका सविना खवास पनि छन् । वृद्धा र बालिकासहित एक गाउँका नौजनाको मृत्यु भएपछि जिताकोट शोकमा डुबेको स्थानीयले बताएका छन् ।





Comments

comments

Leave a Reply

12551