नाम नेपालको मोरङ च्याप्टर गठन

एचकेनेपाल डट कम संवाददाता –
मोरङको पथरी शनिश्चरेमा भएको नाट्यकर्मीहरुको एक भेलाले भुपेन्द्र तिम्सीनाको संयोजकत्वमा १३ सदस्यीय मोरङ च्याप्टर गठन गरेको छ ।

नाट्यकर्मी महासंघ नाम नेपालका केन्द्रीय महासचिव राजेन्द्र रिमालको प्रमुख अतिथियमा सम्पन्न सो कार्यक्रममा मोरङका विभिन्न स्थानहरुबाट भेला भएका रंगकर्मीहरुले च्याप्टर गठन गरेका हुन् ।

नवगठित समितिमा सुनीता घिमिरे (आरोहण), प्रयाग न्यौपाने झोराहाट, युवराज काफ्ले उर्लाबारी, मनोज न्यौपाने सुन्दरदुलारी, लगायत पथरी शनिश्चरेका लीला कुलुङ, हरेन्द्र खत्री, अभय पोखरेल, मात्रिका पौडेल, सरोज तिम्सिना, सुमन राई, परशुराम न्यौपाने, लक्षणा राई सदस्य रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै रिमालले नाट्यकर्मीहरुको हक अधिकार स्थापित गर्ने कुराका साथै महासंघले नाट्यकर्मीहरुको व्यावसायिकता र व्यावसायिक दक्षताका लागि काम गर्ने कुरा बताए । उनले राज्यको नाट्यक्षेत्र हेर्ने निकाय नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान अहिले अपारदर्शी ढंगले चलिरहेकोले त्यसमा खबरदारी गर्नु पर्ने आवश्यकता औंल्याए ।

नाट्यकर्मीहरुको कार्यक्षेत्रमा हुने कुनै पनि खाले दुर्घटनाको सम्भावित जोखिमलाई सम्बोधन गर्ने खालका कार्यक्रम नभएको सन्दर्भमा महासंघले नाट्यकर्मीहरुको हीतका खातिर सम्भावित जोखिम न्यूनिकरण तथा सम्भावित क्षतिको पूर्तिका लागि बीमाको पोलिसी ल्याउन लागेको बताए । उनले महासंघको गठनको औचित्य तथा आगामी कार्यक्रमहरुका बारेमा पनि प्रष्ट पारे ।

कार्यक्रममा सुनसरी च्याप्टरका निवर्तमान अध्यक्ष विशाल भण्डारीले कलाकारहरुलाई सम्मान नभएको बताए । उनले कलाकारहरुले आर्थिक तथा सामाजिक सम्मान पाउनु पर्ने कुरामा जोड दिंदै आगामी दिनमा महासंघले यस्ता कुरामा गम्भीरताका साथ भुमिका निर्वाह गर्नु पर्ने बताए ।

आरोहण गुरुकुलका सुनीता घिमिरेले कलाकार व्यक्ति होईन, समाज पनि हो भन्दै कलाकारलाई डाँफेसंग तुलना गरिन् । कलाकारले पनि नवरसको माध्यमबाट समाज परिवर्तनको काम गर्ने बताईन् । त्यस्तै प्रयाग न्यौपानेले सिनेमा गोजीमा बोकेर संसार घुम्न सकिने तर नाटक नसकिने बाध्यता व्यक्त गरे । नाटक जटील काम हो र यो अर्थसंग सम्बन्धित रहेको जिकिर गरे ।

कार्यक्रमको सभापतित्व कञ्चनजंघा नाट्य समूहका अभय पोखरेलले गरेका थिए भने कार्यक्रम संचालन भुपेन्द्र तिम्सिनाले गरेका थिए । कार्यक्रमको संयोजन एनपिएल संस्थाले गरेको थियो ।





Comments

comments

Leave a Reply

12576