काठमाडौंको विष्णुमतीले पार गर्‍यो खतराको तह, सावधानी अपनाउन आग्रह

काठमाडौँ, काठमाडौंको विष्णुमती नदीले मंगलबार साँझ खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले साँझ गोंगबु जल मापन केन्द्रमा विष्णुमतीले खतराको तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा सावधानी अपनाउन सूचना जारी गरेको छ।

‘काठमाडौं जिल्लास्थित विष्णुमती नदीको गोंगबु जलमापन केन्द्रमा हालको जलसतह खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले विष्णुमती नदी किनारको बाटो भई यात्रा गर्ने र नदीको तटीय क्षेत्रमा रहनु हुनेले उच्च सतर्कता अपनाऔं,’ सूचनामा भनिएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यका लगायत केही क्षेत्रमा अहिले पनि वर्षा भइरहेको छ।

विभागका मौसमविद प्रतिभा मानन्धरले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जानकारी दिइन्।

उनले हाल देशभर साधारणतया बदली रहेको तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमवर्षा भइरहेको बताइन्। काठमाडौं उपत्यकाको गोंगबु माथिल्लो क्षेत्र र बूढानीलकण्ठ आसपासका क्षेत्रमा ‍मंगलबार वर्षा भएको थियो।

नेपाल बाढी सूचनामा जनाइएअनुसार मंगलबार बिहान गौरीघाट जल मापन केन्द्रमा बागमती नदी सतर्कता तह आसपास आइपुगेको थियो। मंगलबारै साँझ नै सिन्धुलीस्थित कमला नदी पनि सतर्कता तह आसपास आइपुगेकाले सावधानी अपनाउन सूचना जारी भएको थियो।

विभागको मौसम पूर्वानुमान महाशाखाले आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै भोलि पनि कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना भएको मौसमविद मानन्धरले बताइन्। रासस





Comments

comments

125909