सहकारी ठगीमा फरार ढोरपाटनका मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलन गरी फरार रहेका बागलुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन्।

इन्टरपोलको रेड नोटिस जारी भएपछि उनी शुक्रबार दिल्ली विमानस्थलमा पक्राउ परेका हुन्। उनीमाथि १५०० भन्दा बढी बचतकर्ताको डेढ अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ। उनी इमेज सहकारीका संस्थापक अध्यक्षको रूपमा कार्यरत थिए। उनीविरुद्ध बागलुङ जिल्ला अदालतमा सङ्गठित ठगीको मुद्दा दायर भएको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एआईजी दीपक थापाले नेपालीलाई नेपाल ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए। नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले इन्टरपोलसँगको समन्वयमा यो पक्राउ सम्भव भएको बताए। उनी गत वर्ष जेठ देखि फरार थिए।

नेपाली २०७९ र २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट मेयर निर्वाचित भएका थिए। उनले २०७४ को चुनावअघि नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका थिए। सहकारी प्रकरणमा जोडिएपछि एमालेले २०८० जेठमा उनलाई गण्डकी प्रदेश कमिटी सदस्यबाट निलम्बन गरेको थियो।





Comments

comments

126475