कोलोराडोमा निवासी नेवाः समुदायले नेपाल संवत् ११४५ विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाए

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। नेपाल संवत् ११४५ को उपलक्ष्यमा कोलोराडो निवासी नेवाः समुदायले आइतबार एक कार्यक्रम आयोजना गरी एक आपसमा न्हुदँया भिंतुना आदान प्रदान गरेका छन्।

नेवाः खलः कोलोराडोले आयोजना गरेको न्हूदँया भिंतुना कार्यक्रममा सहभागी भई उनीहरूले एक आपसमा शुभकामना आदान प्रदान गरेका हुन्। यसै अवसरमा संस्थाको नयाँ पदाधिकारीको घोषणा तथा सम्मान कार्यक्रम समेत गरिएको थियो।

पूर्वसचिव, गायिका तथा महिला नेतृ उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनाली, कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, गण्यमान्य व्यक्ति, बुद्धिजीवी, आयोजक संस्थाका पदाधिकारी, पत्रकार तथा नेपालीभाषी आमाबुवा, दाजुभाइ, दिदीबहिनीको बाक्लो उपस्थिति रहेको थियो।

प्रमुख अतिथि उर्मिला श्रेष्ठद्वारा पानसमा बत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा संस्थाका अध्यक्ष भूषणलाल श्रेष्ठले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको महत्त्व बारे प्रकाश पारेका थिए।

राष्ट्रिय विभूति तथा नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाको फोटोमा माल्यार्पण गरी कार्यक्रमलाई अगाडि बढाइएको थियो। समारोहमा न्हूदँया ११४५ राष्ट्रिय समारोह समितिका अध्यक्ष राजेन्द्र श्रेष्ठले नेपाल बाहिर अमेरिकाको कोलोराडोमा नेपाल संवत् मनाउन लागेकोमा खुसी व्यक्त गर्दै नेपाल संवत्को शुभकामना, कार्यक्रमको महत्त्व र नेवाः खलःलाई धन्यवाद सहितको भिडियो सन्देश सुनाइएको थियो।

कार्यक्रममा उपस्थित अतिथिहरूले नेपाल संवत ११४५ को उपलक्ष्यमा सबैलाई शुभकामना दिँदै राष्ट्रिय विभूति शंखधर साख्वाको योगदानबारे प्रकाश पारेका थिए। यसरी मन्तव्य राख्नेहरूमा हेल्पिङ ह्याण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठ, प्रमुख अतिथि उर्मिला श्रेष्ठ र संस्थाका संस्थापक अध्यक्ष प्रेमकाजी श्रेष्ठ रहेका थिए।

उनीहरूले नेवाः संस्कृति र परम्परा विशाल रहेको र यसले नेपाललाई विश्व माझ चिनाउन मद्दत गर्ने धारणा राख्दै कार्यक्रमलाई एउटा घरभित्र सीमित नगरी यहाँका स्थानीयहरूमाझ प्रस्तुत गर्नुपर्ने विचार व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाली समुदायलाई एकताबद्ध तुल्याउन तथा नेपाली संस्कृतिको जगेर्ना गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै कोलोराडोमा क्रियाशील संस्था नेपाली घरलाई सम्मान गरिएको थियो। समारोहमा नेपाली घरका उपाध्यक्ष गंगा चौलागाईंलाई सम्मान गरिएको थियो।

विभिन्न सामाजिक सञ्जालको माध्यमबाट नेपालीभाषी समुदायको गतिविधिहरू समुदायलाई सुसूचित गराउन अमूल्य योगदान पुर्‍याएको भन्दै स्वतन्त्र पत्रकार नातिबाबु भट्टलाई पगरी गुँथाइदिई मायाँको चिनो तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

यसैगरी सोही समारोहमा संस्थाको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति घोषणा गरिएको थियो। यसरी घोषित नवनिर्वाचित पदाधिकारीहरू यसप्रकार रहेका छन्:

अध्यक्ष: भूषण लाल श्रेष्ठ
निवर्तमान अध्यक्ष: प्रेमकाजी श्रेष्ठ
उपाध्यक्ष: मनोजकाजी तुलाधर
महासचिव: सञ्जय शाक्य
सचिव: नारायणप्रसाद दुवाल
कोषाध्यक्ष: रोशन महर्जन
सांस्कृतिक सचिव: सुरेन्द्र महर्जन
इभेन्ट अफिसर: शर्मिला प्रधान
पब्लिक रिलेसन अफिसर: अनिल बज्राचार्य
संस्थाका सदस्यहरू: सुरेश श्रेष्ठ, जोशन श्रेष्ठ, राजन जोशी, मनिष ताम्राकार
संस्थाका सल्लाहकारहरू: भुवनकृष्ण श्रेष्ठ, धर्मराज श्रेष्ठ
मयजु क्लब संयोजक: रमिता तुलाधर
आईटी संयोजक: मोहनकाजी श्रेष्ठ
ल्यायम्ह क्लब संयोजक: बिकेश प्रधान
लयताच्यः संयोजक: रामगोपाल श्रेष्ठ

कार्यक्रममा संस्थाका आजीवन सदस्यहरूलाई संस्थाका अध्यक्ष तथा संस्थापक अध्यक्षले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए। त्यसैगरी कार्यक्रममा कुमारी रथ निर्माणमा अमूल्य योगदान गर्ने तथा कार्यसमितिको बिगत दुई वर्षे कार्यकालमा संस्थालाई महत्त्वपूर्ण योगदान दिने विभिन्न पदाधिकारीहरूलाई मायाँको चिनो प्रदान गरी सम्मान गरिएको थियो। त्यसैगरी कार्यक्रममा स्थानीय कलाकारहरूले नेवारी गीत गाएर, नेवारी संगीत प्रस्तुत गरी कुशल नृत्य प्रस्तुत गरेका थिए।

भक्तपुरका राजा राघव देवलाई उनका ज्योतिषीले साइत जुराई काठमाडौं स्थित विष्णुमतीको बालुवा लिएर आएमा सुनमा परिणत हुने सल्लाह दिए। सल्लाह अनुसार राजाले साइत जुराई बालुवा लिन पठाए।

काठमाडौंमा व्यापार गरी बसेका शंखधरले भक्तपुरका मानिसले काठमाडौंबाट बालुवा किन लग्दैछन्, यसमा पक्कै केही रहस्य हुनुपर्दछ भन्ने सोचेर बालुवा बोक्ने भरियाहरूलाई त्यो बालुवा छोडेर अर्को बालुवा लिएर गए पैसा दिने बताए।

पैसा पाउने भएपछि भरियाले बालुवा छोडेर गए। नभन्दै ती सबै बालुवा सुनमा परिणत भयो। त्यही सुन बेची शंखधरले सबै नेपालीको ऋण तिरी दिई नेपाल संवत् चलाएका थिए।

नेवाः खलःका अध्यक्ष भूषणलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रम सबिता श्रेष्ठले सञ्चालन गरेकी थिइन्। नेवारी संस्कृति जोगाइराख्न तथा अमेरिकामा जन्मेहुर्केका बालबालिकाहरूलाई नेवारी संस्कृतिको पहिचान गराउन नेवाः खलःले हरेक वर्ष यस्ता कार्यक्रमहरू आयोजना गर्दै आएको छ।





Comments

comments

127804