न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २ डिसेम्बर । चेजियाङ प्रान्तको हुझोउस्थित चाङ्सिङ पिपुल्स अस्पतालमा हङकङकी युवतीलाई चक्कु प्रहार गरी हत्या गरिएको छ।
आइतवार बिहान एक विश्वविद्यालयका पुरुष विद्यार्थीले आफ्नी हङकङकी प्रेमिकालाई चक्कु प्रहार गरी हत्या गरेको मिडियाहरुमा खबर आएका छन्। यस घटनाका क्रममा केही चिकित्सा कर्मचारी र बिरामीहरू पनि घाइते भएका छन्।
आरोपी ताङ हुनान मूलका फिलिपिनी नागरिक भएको पुष्टि भएको छ। ताङ र प्रेमिका वाङ दुवै चेजियाङ मिडिया कलेजमा पढ्थे र जोडी थिए।
जोडी २९ नोभेम्बरमा हुझोउ गएका थिए। त्यहाँ दुबैबीच झगडा भएपछि झगडाको क्रममा ताङले वाङलाई कुटपिट गरेका थिए। वाङ पछि चाङ्सिङ पिपुल्स अस्पतालमा भर्ना भएकी थिइन्। वाङले ताङसँग सम्बन्ध तोड्ने आफ्नो इच्छा व्यक्त गरेकी थिइन्।
३० नोभेम्बरमा ताङले धेरै सन्देश र कलहरू मार्फत वाङसँग मेलमिलाप गर्ने प्रयास गरेका थिए। तर वाङले सबै अस्वीकार गरिदिएकी थिइन्। ताङ डाक्टरलाई भेट्ने बहानामा वार्डमा प्रवेश गरे। फेरि अस्वीकार गरिएपछि उनले वाङलाई चक्कुले प्रहार गरे। त्यसपछि उनले केही चिकित्सा कर्मचारी र बिरामीहरूलाई पनि चक्कु प्रहार गरे।
घटनमा केही चिकित्सा कर्मचारी र अन्य बिरामीहरूसमेत घाइते भएको बताइएको छ। प्रहरीले घटनास्थलमा पुगेर ताङलाई नियन्त्रणमा लिए। वाङको केही घण्टाको उपचारपछि मृत्यु भयो।
घटनापछि कलेजका विद्यार्थीहरूले आफ्नो आघात र चिन्ता व्यक्त गरेका छन्। पीडितका नजिकका स्रोतहरूले वाङलाई दयालु र सरल स्वभावकी भनी वर्णन गरेका छन्।