जनतालाई समयमै सूचना प्रदान गर्न जिम्मेवार हुनुपर्छ : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताको सूचनाको हकलाई प्रभावकारी बनाउन सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा विभिन्न निकायका प्रवक्ता र तोकिएका सूचना अधिकारीलाई जिम्मेवार बन्न आग्रह गरेका छन् ।

मन्त्रालयमा आज आयोजित सङ्घीय मन्त्रालय, संवैधानिक आयोग तथा निकायका प्रवक्ताहरूसँग त्रैमासिक समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गुरुङले यसका लागि प्रवक्ता र सूचना अधिकारीलाई व्यवस्थित गर्न आवश्यक पर्ने स्रोतसाधन, प्रशिक्षणलगायत विषयमा आफू सहयोग गर्न तयार रहेको जानकारी दिए ।

“सूचनाको हक जनताको मौलिक हक हो । त्यसकारण सूचना सत्य, तथ्य र सही दिनुपर्ने हाम्रो कर्तव्य हो”, उनले भने, “प्रवक्ता र सूचना अधिकारीको आवश्यक व्यवस्थापन, दक्षता बनाउने तथा व्यवस्थित गर्नेमा मन्त्रालय सकारात्मक छ ।”

मन्त्री गुरुङका अनुसार प्रवक्ता दक्ष हुनु भनेको त्यस मन्त्रालय या निकायको प्रभावकारी कार्यको उजागर हुनु हो । नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले प्रवक्ताको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको र चुनौती पनि उत्तिकै रहेको सुनाए । आफ्ना अनुभव बाँड्दै उनले जनताको सूचनाका हक सुनिश्चित गर्ने मुख्य दायित्व प्रवक्ता र सूचना अधिकारीलगायत सम्बन्धित सबै शाखाको समेत उत्तिकै सहयोगी भूमिका जरुरी हुने बताए ।

मन्त्री गुरुङले प्रवक्ताहरूले काम गर्दा भोग्नु परेका समस्याहरू सुनेर छिटोभन्दा छिटो समाधान गर्नतर्फ ध्यान दिने प्रतिबद्धता व्यक्त गरे । रासस





Comments

comments

128171