नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोमा डा. रबिता पाठक ओझा फाउन्डेसनका लागि आर्थिक सहयोग संकलन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो फण्ड रेजिङ कार्यक्रम सम्पन्न भएको छ।
डा. रबिता पाठक ओझा फाउन्डेसनको आयोजना तथा अल स्टेट इन्स्योरेन्स सुनिल पाठक एजेन्सीको संयोजनमा यहाँ सक्रिय सबै संघसंस्था, समाजसेवी, बुद्धिजीवी र व्यवसायीहरूको सहभागितामा शुक्रबार ब्राइटन शहरमा गाला नाइट सम्पन्न भएको हो।
स्थानीय ब्राइटन सिटीका मेयर ग्रेग मिल्सको प्रमुख आतिथ्यता र बोल्डरका मेयर एरन ब्रोकेट तथा हेल्पिङ ह्यान्ड हेल्थ एजुकेशनका अध्यक्ष एवं समाजसेवी नारायण श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय संघसंस्थाका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी, व्यवसायी, कलाकार, पत्रकार तथा स्थानीय चन्दादाता, नेपालीभाषी बाबुआमा दाजुभाइ दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो।
नेपाल र अमेरिकाको राष्ट्रिय गान गाएर सुरु गरिएको कार्यक्रममा मेयरहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूको स्वागत गर्दै फाउन्डेसनको इतिहास र वर्तमान अवस्थाको बारेमा फाउन्डेसनका सिइओ सुनिल पाठकले जानकारी गराएका थिए।
समारोहमा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लगायत विशिष्ट अतिथिहरूले कार्यक्रम सफलताको शुभकामना दिँदै सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। समाजसेवी नारायण श्रेष्ठले फाउन्डेसनको इतिहास र वर्तमान अवस्थाबारे थप प्रष्ट्याउँदै सबैलाई यथासक्य सहयोग गर्न अनुरोध गरेका थिए।
डा. रबिता पाठक ओझा नेपाली सेनाको क्याप्टेन थिइन् । बिरामीको उपचार गर्न जाने क्रममा नेपालको नेपालगञ्जमा सन् २०११ अक्टोबर ११ मा विमान दुर्घटनामा परेर उनको निधन भएको थियो । नेपालको चितवन जिल्लामा जन्मिएकी उनैको स्मृतिमा उनका दाजु सुनिलले फाउन्डेसन स्थापना गरेका हुन् । संकलित आर्थिक सहयोगबाट नेपालमा आँखा अस्पताल, हेल्पिङ ह्यान्ड हेल्थ एजुकेसन र डा. रबिता पाठक ओझा फाउन्डेसनको संयुक्त आयोजनामा चितवन लगायत नेपालको दुर्गम जिल्लाका पिछडिएका समुदायमा स्वास्थ्य शिविर, नेपालका अस्पतालहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक औजार तथा औषधि, चश्मा लगायतका सामग्री वितरण गर्दै आएको छ ।
निशा पाठकद्वारा सञ्चालित कार्यक्रममा सहभागीहरूलाई थप मनोरञ्जन प्रदान गर्न स्थानीय कलाकार भाइबहिनीहरूले कुशल नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा लिब्बी लाइभ अक्सन्सको माध्यमबाट पनि थप सहयोग संकलन गरिएको थियो ।