कोलोराडोमा योमरी पुन्ही कार्यक्रम आयोजना हुँदै..

नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। योमरी पुन्ही उपलक्ष्यमा कोलोराडो निवासी नेवार समुदायले आगामी आइतबार एक कार्यक्रम आयोजना गरी योमरी पुन्ही मनाउने भएका छन्।

कोलोराडो नेवार खलःले आयोजना गर्ने योमरी पुन्ही कार्यक्रममा बालबालिकाहरूलाई सहभागी गराई कार्यक्रम स्थलमा नै योमरी बनाउन सिकाई, उपस्थित सबैलाई तातो-तातो योमरी वितरण गरी योमरी पुन्ही मनाउने कार्यक्रम रहेको नेवार खलःका अध्यक्ष भूषणलाल श्रेष्ठले बताएका छन्।

नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा आगामी डिसेम्बर १५ तारिख आइतबार दिउँसो १ बजेदेखि ४ बजेसम्म आयोजना हुने योमरी पुन्ही कार्यक्रममा सहभागी हुन रजिस्ट्रेसन शुल्क सहयोग स्वरूप प्रतिव्यक्ति १० डलर राखिएको छ भने, १० वर्ष मुनिका बालबालिकाहरूलाई ५ डलर राखिएको छ। अनलाइन रजिस्ट्रेसन खुलिसकेको हुनाले कार्यक्रममा सहभागी हुन इच्छुक सबै महानुभावहरूलाई रजिस्ट्रेसन गरिदिनुहुन अध्यक्ष श्रेष्ठले सबैलाई अनुरोध गरेका छन्। कोलोराडो स्थित विभिन्न संघसंस्थाका पदाधिकारी, समाजसेवी, बुद्धिजीवी, कलाकार, आयोजक संस्थाका पदाधिकारी, पत्रकार, गण्यमान्य तथा नेपालीभाषी बाआमा, दाजुभाई दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन समेत उनले अनुरोध गरेका छन्।

ऐतिहासिक कथन अनुसार पाञ्चाल देश (हालको पनौती) मा शुचन्द्र महाजन नाम गरेका दानी र धर्मात्मा दम्पती बस्थे। उनीहरूको चर्चा संसारभर फैलिएको थियो। एक दिन कुबेरलाई पनि उनीहरू कति दानी रहेछन् भनी बुझ्न दरिद्रको भेष गरी ती दम्पतीको घर गए। शुचन्द्र दम्पतीले बडो श्रद्धापूर्वक भोजन गराएको देखी खुसी भई य:मरीको महत्व बताए। नयाँ अन्न भित्र्याएपछि भकारीमा गणेश, कुबेर र तिनका बाहन सहितको प्रतिमा बनाई तिनलाई य:मरी चढाउने विधि बताएर कुबेर अन्तर्ध्यान भए। त्यो दिन मंसिर शुक्ल पूर्णिमा परेको थियो। त्यसैबेलादेखि योमरी पुन्ही मनाउने चलन रहेको बताइन्छ।

दोस्रो पुस्तामा सीप हस्तान्तरण गर्न कार्यक्रम स्थलमा नै बालबालिकाहरूलाई सहभागी गराई योमरी बनाउन लागिएको संस्थाले जनाएको छ।





Comments

comments

128174