क्रिसमसको बेला दैनिक २ लाख यात्रुले हङकङ विमानस्थलबाट आवातजावत गर्ने अनुमान..

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १३ डिसेम्बर। हङकङ विमानस्थल प्राधिकरण (एएएचके) ले गत नोभेम्बर १८ देखि नयाँ थ्री-रनवे प्रणालीको सफल सञ्चालनपछि क्रिसमस अवधिमा दैनिक करिब २ लाख यात्रु सम्हाल्ने जनाएको छ। यो महामारी पूर्वको यात्रु संख्या बराबर हो।

एएएचकेका कार्यकारी निर्देशक स्टिभन यिउ सिउ-चुङका अनुसार दैनिक उडान आवेदन महामारी पूर्वको १,२०० को हाराहारीमा पुगेको छ। विमानस्थलको क्षमता सामान्य अवस्थामा फर्किएको र यस अवधिमा महामारी पश्चातको सर्वाधिक यात्रु चाप हुने अपेक्षा गरिएको छ।

हङकङका बासिन्दाहरूको विदेश यात्राको उच्च समय डिसेम्बर २० देखि २२ सम्म र फर्कने समय डिसेम्बर २७ देखि २९ सम्म हुने अनुमान छ। यस अवधिमा सबै विमानस्थल सुरक्षाकर्मीको बिदा रद्द गरिने, सम्पूर्ण सुरक्षा च्यानलहरू सञ्चालन गरिने र यात्रु प्रवाह व्यवस्थापनका लागि कार पार्क १ प्रयोग गरिने जनाइएको छ।

यिउका अनुसार थ्री रनवे प्रणालीको सञ्चालनले टेकअफ र ल्यान्डिङको प्रतीक्षा समय घटाएको छ। तर एयरलाइन्स र ग्राउन्ड कर्मचारीहरूको सहज अनुकूलनका लागि उडान संख्या क्रमिक रूपमा बढाइनेछ।

सन् २०३५ सम्ममा विमानस्थलको वार्षिक यात्रु संख्या १२ करोड पुग्ने र १ लाख कर्मचारी आवश्यक पर्ने अनुमान गरिएको छ। यो माग पूरा गर्न समय-समयमा थप ४०,००० कर्मचारी आवश्यक पर्नेछ। स्थानीय नागरिकलाई प्राथमिकता दिइने र आवश्यकता अनुसार विदेशी कामदार पनि लिइने बताइएको छ।





Comments

comments

128259