म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा रहेको सुनछहरा पूर्वाधार र पर्यटकको पर्खाइमा छ । प्रशस्त सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसारको अभावका कारण सुनछहरा ओझेलमा परेको छ । व्यवस्थित पदमार्गको साथै झोलुङ्गे पुलको अभावका कारण सुनछहरामा पर्यटकहरू पुग्न सकेका छैनन् ।
प्रचारप्रसारका अभावमा सुनछहराको विशेषता स्थानीय स्तरमै सीमित भएको चिमखोलाका बासिन्दा ललित गर्बुजाले बताए । ‘धौलागिरि हिमालको आधार शिविर क्षेत्रमा पर्ने सुनछहराको धार्मिक र पर्यटकीय सम्भावना भएपनि ओझेलमा परेको छ,’ उनले भने ‘सुनछहरामा पूर्वाधार विकास र प्रर्वद्धनको आवश्यकता छ ।’
भारतीय सेनामा कार्यरत गर्बुजाको अगुवाइमा मण्डली युवा क्लबका पदाधिकारी, पर्यटन व्यवसायी र सञ्चारकर्मीहरूको टोली गत हप्ता समुन्द्री सतहदेखि तीन हजार नौ सय पचास मिटर उचाइमा रहेको सुनछहरा पुगेर फर्किएको थियो ।
किम्बदन्ती अनुसार परापूर्वकालमा ध्यान बस्नका लागि झरनामा पुगेका एक जना बाजा बजाउने व्यक्तिलाई भगवान् प्रसन्न भएर बर माग्न अनुरोध गरेका थिए । ती बाजा बजाउने व्यक्तिले सुनको बर मागेछन् । भगवान्ले छहराको गुफाबाट हातमा हटाउने जति सुन लैजान आशीर्वाद दिए पनि ती व्यक्तिले धेरै निकाल्न खोज्दा बाढी आएर बगाएको र पछि त्यसको नाम सुनछहरा रहन गएको बुढापाकाले बताउँछन् ।
छहराको भित्र रहेको गुफाको भित्ताहरू पहेँलो रंगको भएकाले पनि त्यसलाई सुनछहरा भन्ने गरिएको रघुगंङ्गा गाउँपालिका–७ चिमखोलाका वडा अध्यक्ष थकबहादुर पाईजा (रिम)ले बताए । विभिन्न देवीदेवता र जनावरको आकृति देखिने छहराको भित्र रहेको गुफामा हिर्काउँदा बाजाको आवाज सुनिन्छ ।
धौलागिरि आधार शिविर पुग्ने पदमार्ग बनाउन थालिएको र सुनछहरा जाने पदमार्ग तथा बाटोमा पर्ने रघुगङ्गा नदीमा झोलुङ्गे पुल बनाउन पहल गरेको वडा अध्यक्ष पाईजाले बताए ।
हिउँदयाममा चिसोले छहराको पानी जमेर हिउँमा परिणत भएको हेर्न पाउनु सुनछहराको थप विशेषता हो । छहरा करिब १५ मिटर अग्लो छ भने त्यहाँभित्र करिब पाँच मिटर लामो गुफा छ । सुनछहरामा पुगेर दर्शन तथा पूजाआजा गरेमा मनोकाङ्क्षा पुरा हुने जनविश्वास छ ।
बेनी देखि चिमखोला हुदै सुगुरथला सम्म चार घण्टा सवारी साधनको यात्रा पछि पुगिन्छ । सुगरथलादेखि थप एक दिन यात्रा गरेपछि पुगिने सुनछहरामा यार्सा संकलन गर्ने स्थानीयहरू वैशाख जेठ महिनामा बास बस्ने गर्दछन् । सुगुरथलासम्म मात्र होटल तथा रेस्टुरेन्टको सुविधा छ । सुगरथला भन्दा माथि आफै बन्दो बस्तीको सामान लिएर जानुपर्छ ।
पोखराका पर्यटन व्यवसायी तारा गर्बुजाले सुनछहरा पुग्ने व्यवस्थित पदमार्ग र झोलुङ्गे पुल बनाउन सकेमा पर्यटकलाई सहज हुने बताए । झोलुङ्गे पुल नहुँदा राहुघाट वारपार गर्न जङघार तर्नुपर्छ । बर्खा याममा खोलाबाट वारपार गर्न सकिँदैन ।
पदमार्ग नहुँदा भिरमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । नक्सा बनाउन र सङ्केत चिन्हहरू पनि राख्नुपर्ने अध्ययन टोलीमा गएका सुरेन गुरुङले बताए । सुनछहरा हुँदै रिखार, धौलागिरि आधार शिविरको अस्ट्रेलियन क्याम्प, कालीबराह र मुस्ताङ पनि जान सकिन्छ । बाटो चिनेका गोठाला बाहेक अरूसँग यात्रा गर्दा हराउने जोखिम छ ।