नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडो निवासी शेर्पा समुदायले शनिबार २०५१ औं ग्याल्पो ल्होसार भव्यताका साथ एक आपसमा शुभकामना आदान प्रदान गर्दै मनाएका छन्।
कोलोराडो निवासी शेर्पा समुदायको साझा संस्था शेर्पा एसोसिएसन अफ कोलोराडोको आयोजनामा उनीहरूले २०५१ औं ग्याल्पो ल्होसार मनाएका हुन्। यहाँस्थित बोल्डर शहरमा कोलोराडोको विभिन्न शहरबाट शेर्पा समुदायका सदस्यहरू उपस्थित भई भव्यताको साथ सिब्रु तथा अन्य सांस्कृतिक नृत्य प्रस्तुति गर्दै मनोरञ्जनका साथ ग्याल्पो ल्होसार सम्पन्न गरेका हुन्।
समारोहमा लामागुरू, संस्थालाई सहयोग गर्ने विभिन्न दाता, कोलोराडोमा सक्रिय नेपाली संघ संस्थाका पदाधिकारी, सगरमाथा आरोही, कलाकार, व्यवसायी, पत्रकार गणमान्य तथा शेर्पा समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा उपस्थित अतिथिहरूलाई खादा लगाई सम्मान गरिएको थियो।
ल्होसार कार्यक्रम बिहान ११ बजे लामा गुरुहरूबाट विधिपूर्वक पूजापाठ गरी शुरुवात भएको थियो। अपराह्नको कार्यक्रम नेपाल र अमेरिकाको राष्ट्रिय गान बजाएर सुरु गरिएको थियो। शेर्पा एसोसिएसन अफ कोलोराडोका उपाध्यक्ष सोनाम शेर्पाले स्वागत मन्तव्य राख्दै संस्थाको उद्देश्य र कार्यक्रमको महत्वमा प्रकाश पारेका थिए।
नेशनल जिओग्राफिक हिरो सगरमाथा आरोही तथा आरोहण प्रशिक्षक पेम्बा ग्याल्जेन शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूले शेर्पा समुदायको नयाँ वर्ष तथा ग्याल्पो ल्होसारको शुभकामना दिएका थिए। कार्यक्रम शेर्पा एसोसिएसन अफ कोलोराडोका महासचिव निमा शेर्पाले संचालन गरेका थिए।
शेर्पा एसोसिएसन अफ कोलोराडोका अध्यक्ष ङवाङ वाङछु शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष ङवाङ वाङछुले समारोहमा उपस्थित सबै पाहुनाहरूलाई धन्यवाद दिँदै शेर्पाहरूको सांस्कृतिक पर्व ल्होसार भव्यताकासाथ सम्पन्न पार्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रममा तिब्बतियन कल्चर ग्रुपका कलाकार बहिनीहरू लगायत स्थानीय अन्य कलाकार भाइबहिनीहरूले गीत तथा कुशल नृत्य प्रस्तुत गरी दर्शकहरूको मन जित्न सफल भएका थिए।
यसैबीच, कोलोराडोमा सक्रिय शेर्पा समुदायकै अर्को संस्था युनाइटेड शेर्पा एसोसिएसन कोलोराडोले पनि वेस्टमिनिस्टरमा छुट्टै कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होसार मनाएको छ।
नेपालमा मूलतः ३ किसिमको ल्होसार मनाउने गरिन्छ। गुरुङहरूले तोला, तामाङहरूले सोनाम र शेर्पाहरूले ग्याल्पो ल्होसार मनाउने चलन छ। उनीहरूले यस वर्ष गिद्ध वर्गलाई बिदाई गर्दै सर्प वर्गलाई स्वागत गरेका छन्।