नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडो निवासी नेपाली समुदायले बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप, ऐक्यबद्धता र सद्भाव अभिवृद्धि गर्दै भावी पुस्तालाई संस्कृति सिकाउने उद्देश्यले फागु पूर्णिमाको अवसरमा होली खेल्ने कार्यक्रम आयोजना गर्ने भएका छन्।
नेपालीहरुको साझा संस्था नेपाली घरको आयोजनामा आगामी मार्च १५ शनिबारका दिन दिउँसो १ बजेदेखि ४ बजेसम्म नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा होली खेल्ने कार्यक्रम रहेको अध्यक्ष बसन्त लम्सालले बताएका छन्।
कोलोराडो स्थित सबै संस्थाका प्रतिनिधि, गणमान्य, बुद्धिजीवी, व्यवसायी, पत्रकार तथा सर्वसाधारण नेपालीभाषी बुबाआमा, दाजुभाइ, दिदीबहिनी तथा नेपाल र नेपालीको संस्कृतिप्रति आस्था र चासो राख्ने स्थानीय सबैलाई सपरिवार कार्यक्रममा उपस्थित भई होली खेल्ने कार्यक्रममा सहभागी भइदिनुहुन संस्थाका उपाध्यक्ष गंगा चौलागाईंले अनुरोध गरेका छन्।
एक आपसमा रंगदली भलाकुसारी गर्दै होलीखेली नेपाली धर्म संस्कृतिको पहिचान गराउने कार्यक्रमलाई भव्यताका साथ सम्पन्न पार्न सबैले यथासक्य प्रचार प्रसार गरी सहयोग गरिदिनुहुन नेपाली घरका महासचिव भोला कटुवालले सबैलाई अनुरोध गरेका छन्। सहभागीहरुलाई कार्यक्रम स्थलमा प्रसाद वितरणको व्यवस्था रहेको, त्यसैगरी इच्छुक सहभागीलाई नेपाली घरको लोगो अंकित सेतो टि-सर्ट कार्यक्रम स्थलमा खरिद गर्न पाउने सुविधासमेत भएको बताइएको छ।
असत्य माथि सत्यको र अधर्म माथि धर्मको विजय प्रतीकको रूपमा मनाइने होली नेपालमा फागुन शुक्ल अष्टमीको दिन बसन्तपुर स्थित गद्दी बैठक अगाडि रङ्गीचङ्गी पारेर सिँगारी गाडिएको चीरमा आजा पूजा गरेपछि विधिवत रूपमा सुरु भएको मानिन्छ।
नेपालको पहाडी क्षेत्रमा फागु पूर्णिमाको दिन र मधेशमा त्यसको भोलिपल्ट होली खेल्ने चलन रहेको छ। होली नेपालसँगै भारत, पाकिस्तान, जापान, थाइल्यान्ड, अस्ट्रेलिया, इङ्ल्यान्ड, अमेरिकालगायतका देशहरूमा भव्यताका साथ मनाइन्छ। तर परदेशमा होलीकै दिन बिदा नपर्ने हुनाले होली अगाडि वा पछाडिको शनिबार आइतबार पारेर मनाउने चलन रहेको छ।
दैत्यराज हिरण्यकश्यपुले विष्णु भक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा बस्न लगाउँदा आगोले होलिका आफै भस्म भएको, तर भक्त प्रह्लादलाई केही नभएकोले त्यही समयदेखि शक्तिको दुरुपयोग गर्ने पापिनी होलिका मारिएको खुसियालीमा होली खेल्ने चलन चलेको हिन्दु शास्त्रमा उल्लेख गरिएको छ।
त्यसैगरी द्वापर युगमा श्रीकृष्ण भगवानलाई मार्न कंशद्वारा पठाइएकी राक्षसी पुतनाले आफ्नो स्तनमा विष लगाएर कृष्णलाई दूध चुसाउँदा कृष्ण मर्नुको सट्टा पुतना आफै मरेकोले त्यस खुसीको उपलक्ष्यमा ब्रजवासीले फागु मनाउन थालेको जनश्रुति रहेको छ।
यी र यस्ता असंख्य जनश्रुति, हिन्दु संस्कृति तथा परम्परा अँगाल्दै आएको हाम्रो नेपाली चलन अनुसार असत्य माथि सत्यको विजय स्वरूप भएको खुसियालीमा यो पर्व मनाइने चलन रहेको छ।