न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २१ मार्च। फान लिङको क्वीन्स हिल एस्टेटमा आज बिहान १०:३२ बजे एक डरलाग्दो घटना भएको छ । एक ३ र ५ वर्षीय दाजुभाइ आफ्नो घरको झ्यालबाट बाहिर निस्केर भवनको बाहिरी भागमा बसेको अवस्थामा फेला परेका थिए।
सानो भाइ भवनको झ्याल मुनि र ठूलो दाजु एयर कन्डिसनरको माथि बसिरहेको देखेर स्थानीय बासिन्दाहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए । उद्धारकर्मीहरूले दुवै बालकलाई सकुशल उद्धार गरेका छन्। बच्चाहरूको प्रारम्भिक जाँचमा कुनै बाहिरी चोटपटक नदेखिएको र उनीहरूलाई थप परीक्षणका लागि नर्थ डिस्ट्रिक्ट अस्पताल लगिएको छ।
अनुसन्धानबाट खुलेको तथ्य अनुसार गत राति बच्चाहरू सुत्न नमानेका र बिहान मात्र सुतेका थिए । घटना हुँदा अभिभावकहरू सुतिरहेका थिए । ठूलो छोराले साँचो प्रयोग गरी झ्यालको ग्रिल खोलेर भाइसँग बाहिर निस्किएको बताइएको छ। प्रहरीले ३२ वर्षीय पिता ली र २९ वर्षीया आमा ताओलाई बाल दुर्व्यवहार र लापरवाहीको आरोपमा पक्राउ गरेको छ।
सामाजिक सञ्जालमा यो घटनाको भिडियो र तस्बिरहरू भाइरल भएपछि धेरैले अभिभावकको लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्। कतिपयले बच्चाहरूको सुरक्षाका लागि झ्यालमा ग्रिल नराख्ने अभिभावकको लापरवाहीको आलोचना गरेका छन् भने केहीले बच्चाहरू सकुशल बचेकोमा राहत व्यक्त गरेका छन्।