जुडोमा नेपाललाई पाँच स्वर्णसहित १० पदक

काठमाडौँ । बङ्गलादेश क्रिरा सिखा प्रोतिष्ठान (बिकेएसपी) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपाली खेलाडीले पाँच स्वर्णसहित १० पदक जितेका छन्।

नेपालले थप एक रजत र चार कांस्य पनि जित्दै समग्रमा उपविजेता बन्यो । त्यसमा बन्दी सहायता नियोग (पाम)का खेलाडीले सर्वाधिक चार स्वर्ण र एक कांस्य जिते । प्रतियोगितामा पामबाट पाँच खेलाडी सहभागी भएकोमा सबैले पदक चुमे । पुरुष ६० केजीमुनि सविनकुमार दियाली र ६६ केजीमुनि विशेष विक तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनीता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पाले नेपाललाई स्वर्ण दिलाए ।

पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते । पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ र ७३ केजीमाथि विज्ञान खत्री तथा महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य हात पारे । प्रतियोगितामा नेपालबाट जम्मा १२ खेलाडी सहभागी थिए । तीमध्ये निशा, विनीता, पेमा, सविन र समिता पामका हुन्।

प्रशिक्षकमा राधादेवी राई र लक्ष्मी तामाङ रहेका छन् । राधाले प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेको नेपाल जुडो सङ्घका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिए । बङ्गलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसाथ टिम च्याम्पियन बन्यो।





Comments

comments

131373