LIVE अपडेटः हङकङमा शक्तिशाली सामुद्रिक आँधी…

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, २० जुलाई।

    बस सेवाहरू साँझ ८ बजेदेखि सुचारु हुने

सिटिबसले आज साँझ मौसम विभागले नं. ८ सिग्नललाई हटाई नं. ३ सिग्नल जारी गरेपछि, अधिकांश दिवा रुटहरू साँझ ८ बजेदेखि क्रमशः सुचारु हुने जानकारी दिएको छ।

अहिले केवल S1 र B7 रुटहरूले सीमित सेवा प्रदान गरिरहेका छन्। शहरको अर्को प्रमुख बस सञ्चालक KMB ले पनि आफ्ना दिवा रुटहरू साँझ ८ बजेदेखि सुचारु हुने अपेक्षा गरेको छ। कम्पनीका फिल्ड कर्मचारीहरूले विभिन्न मार्गहरूमा सडकको अवस्था जाँच बढाइरहेको जनाइएको छ। हङकङमा हरिकेन सिग्नल नं. १० जारी गरिएको बेला जे देखियो, हेर्नुहोस् आजको भिडियोः

    संकेत नं. ३ जारी

हङकङ मौसम विभागले आज साँझ ७:४० बजे नं. ८ दक्षिणपूर्वी आँधी संकेतलाई प्रतिस्थापन गर्दै हावा संकेत नं. ३ जारी गरेको छ। यसको अर्थ प्रति घण्टा ४१ देखि ६२ किलोमिटर गतिको हावा चल्ने अनुमान गरिएको छ। अझै पनि शक्तिशाली हावा चलिरहेको हुनाले सर्वसाधारणलाई सतर्कता अपनाइरहन अपिल गरिएको छ। मौसम विभागका अनुसार, साना जलयानहरूका लागि आश्रयस्थल छोड्न अझै सुरक्षित छैन। स्थिति सामान्य नभएसम्म सबैलाई सतर्क रहन आग्रह गरिएको छ।

    ङकङमा नं. ८ दक्षिणपूर्वी आँधी सिग्नल जारी

हङकङ मौसम विभागले आज दिउँसो ४:१० बजे नं. ८ दक्षिणपूर्वी आँधी सिग्नल जारी गरेको छ। यसको अर्थ दक्षिणपूर्वी क्षेत्रबाट प्रति घण्टा ६३ किलोमिटर वा सो भन्दा बढी गतिको हावा चल्ने अनुमान गरिएको छ। अधिकारीहरूले सर्वसाधारणलाई घरभित्रै बस्न र अत्यावश्यक कामबाहेक बाहिर नजान सुझाव दिएका छन्।

    हङकङमा हरिकेन सिग्नल नं. १० जारी

आज बिहान ९:२० बजे हङकङमा हरिकेन सिग्नल नं. १० जारी गरिएको छ। यसको अर्थ प्रति घण्टा ११८ किलोमिटर वा त्यो भन्दा बढी गतिमा हावा चल्ने अनुमान गरिएको छ।

अधिकारीहरूले सर्वसाधारणलाई बाहिर नजान र खुला झ्याल तथा ढोकाहरूबाट टाढा रहन सल्लाह दिएका छन्। मौसम विभागले सबैलाई सुरक्षित स्थानमा आश्रय लिन र हावाको दिशा परिवर्तनका लागि तयार रहन अनुरोध गरेको छ। हेर्नुहोस् आजको भिडियोः

यो वर्षको सबैभन्दा शक्तिशाली आँधीका कारण जनजीवन प्रभावित भएको छ र सार्वजनिक यातायात सेवा, विमान सेवा लगायत अत्यावश्यक सेवाहरू ठप्प भएका छन्।

    हङकङमा शक्तिशाली सामुद्रिक आँधीका कारण ५१५ उडान रद्द

हङकङमा शक्तिशाली सामुद्रिक आँधीका कारण हजारौं यात्रुहरू प्रभावित भएका छन्। यो आँधीका कारण विमानस्थल अधिकारीहरूले ठूलो संख्यामा उडानहरू रद्द गर्न बाध्य भएका छन्।

२४० भन्दा बढी आगमन र २४० भन्दा बढी प्रस्थान उडानहरू रद्द गरिएका छन्। हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटका अनुसार, शनिबारका लागि तालिकाबद्ध कम्तीमा १४ आउने र ८ जाने उडानहरू पनि रद्द गरिएका छन्।

क्याथे प्यासिफिक, हङकङ एक्सप्रेस, हङकङ एयरलाइन्स र ग्रेटर एयरलाइन्स लगायतका विमान कम्पनीहरूले प्रभावित यात्रुहरूका लागि टिकट परिवर्तन तथा शुल्क माफी गर्ने बताएका छन्।


    एमटीआर सेवा खुला स्थानहरूमा स्थगित

एमटीआर कर्पोरेशनले खुला स्थानहरूमा सबै रेल सेवाहरू स्थगित गरेको छ, जसमा लाइट रेल र एयरपोर्ट एक्सप्रेस समेत समावेश छन्।

रेल सञ्चालकका अनुसार विभिन्न लाइनहरूमा सीमित सेवा सञ्चालन हुनेछ, जहाँ हरेक १५ मिनेटमा रेल चल्नेछ। यसमा चुन वान लाइन (सेन्ट्रल र लाई किङबीच), क्वुन तोङ लाइन (वाम्पोवा र चोई हुङबीच), आइल्यान्ड लाइन (केनेडी टाउन र हेङ फा च्युएनबीच), र साउथ आइल्यान्ड लाइन (साउथ होरिजन्स र लेई तुङबीच) समावेश छन्।

त्यसैगरी च्युङ क्वान ओ लाइन (नर्थ पोइन्ट र पो लाम, तिउ केङ लेङ र लोहास पार्कबीच), तुङ चुङ लाइन (हङकङ र काउलुन स्टेशनबीच), र ईस्ट रेल लाइन (एडमिरल्टी र हङ होमबीच) मा पनि हरेक १५ मिनेटमा रेल सेवा उपलब्ध हुनेछ।

चुन मा लाइनमा पनि सीमित सेवा सञ्चालन हुँदै छ, जहाँ चिम सा चुई ईस्टदेखि चुन वान वेस्टसम्म हरेक १५ मिनेटमा र डायमण्ड हिलदेखि हो म्यान तिनसम्म हरेक १८ मिनेटमा रेल चल्नेछन्। डिज्नील्यान्ड रिसोर्ट लाइन र एमटीआर बस सेवाहरू पनि स्थगित गरिएका छन्।

    सिग्नल नं. १० को सम्भावना

हङकङ अब्जरभेटरीले अझै शक्तिशाली सामुद्रिक आँधीको सम्भावना बढेको बताएको छ। अब्जरभेटरीका अनुसार, अधिकारीहरूले आँधी सिग्नल नं. १० जारी गर्नुपर्ने वा नपर्ने बारे मूल्यांकन गरिरहेका छन्।

यो अवस्थामा नागरिकहरूलाई घरभित्रै सुरक्षित स्थानमा बस्न र जोखिमपूर्ण क्षेत्रहरूमा नजान सल्लाह दिइएको छ। सामुद्रिक क्षेत्रहरूमा ठूलो छाल र तटीय इलाकाहरूमा बाढीको खतरा रहेको पनि चेतावनी दिइएको छ।

अधिकारीहरूले आपतकालीन सेवाहरू सुचारु राखेका छन् र जनतालाई अत्यावश्यक नभए सम्म यात्रा नगर्न अनुरोध गरेका छन्।

    आश्रयस्थल खोलियो

गृह मामिला विभागले ३४ वटा अस्थायी आश्रयस्थलहरू खोलेको छ, जहाँ हालसम्म १९० जना व्यक्तिहरूले शरण लिएका छन्।

    आँधी सिग्नल नं. ९ जारी..

हङकङ अब्जरभेटरीले बिहान ७:२० बजे तीव्र आँधी वा स्टर्म सिग्नल, नं. ९ जारी गरेको छ। यसको अर्थ टाइफुन विफा हङकङ नजिकै आइपुग्दै गर्दा हावाको गति उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ। मौसम विभागले स्थानीय हावाको अवस्थाको आधारमा हरिकेन सिग्नल नम्बर १०, मा अपग्रेड गर्ने सम्भावना रहेको जनाएको छ।





Comments

comments

132116