काठमाडौं । बाङ्ग्लादेशको राजधानी ढाकामा सोमवार अपराह्ण भएको वायुसेनाको विमान दुर्घटनामा २७ जनाको मृत्यु भएको छ भने १७० भन्दा बढी घाइते भएका छन्। बीबीसी बाङ्ग्लाको रिपोर्ट अनुसार तालिमका लागि उडाइएको एफ-७ जेट विमान उडेलगत्तै प्राविधिक समस्या देखिएपछि उत्तरी ढाकास्थित माइलस्टोन स्कूल तथा कलेजको भवनमा दुर्घटनाग्रस्त भएको हो।
बाङ्ग्लादेशको अन्तरिम सरकारका प्रमुखका सल्लाहकारले मङ्गलबार बिहान मृतकको संख्या २७ पुगेको पुष्टि गरेका छन्। घाइतेहरूमध्ये अधिकांश उक्त विद्यालयका विद्यार्थीहरू रहेका छन्। शरीर जलेर घाइते भएका ५० जनाभन्दा बढीलाई अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये २५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले जनाएका छन्।
दुर्घटना हुँदा विद्यालयमा परीक्षा चलिरहेको थियो। १० कक्षाका विद्यार्थी फरहान हसन समुद्रका अनुसार, “जाँच सकिएपछि म बाहिर उभिएको थिएँ। त्यसपछि मेरो आँखैअगाडि जल्दै गरेको विमान भवनमा ठोक्कियो।” उनका अनुसार परीक्षा हलभित्रै रहेका उनका एक साथीको मृत्यु भएको छ।
बाङ्ग्लादेश वायुसेनाले एक विज्ञप्ति जारी गर्दै दुर्घटनामा परेको एफ-७ जेट विमानले जमिन छाडेलगत्तै यान्त्रिक गडबडी सामना गरेको बताएको छ। पाइलटले मानिसहरूको घनत्व कम भएको ठाउँमा विमान लैजाने प्रयास गरे पनि समयमै त्यसो गर्न नसकेको अधिकारीहरूले जनाएका छन्।
मृतकहरूमा विद्यार्थीका साथै केही अभिभावकहरू पनि रहेको अनुमान गरिएको छ। घटनाको अनुसन्धान भइरहेको वायुसेनाले जनाएको छ।