रमेश खावाजु –
काठमाडौं। वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूको सीप र क्षमतालाई स्वदेशमै उपयोग गर्दै अर्थतन्त्र विकास गर्ने लक्ष्यसहित स्थापना भएको रिटर्नी सेन्टर नेपाल हाल संगठन विस्तार र प्रदेशस्तरीय गतिविधिमा सक्रिय बनेको छ।
सेन्टरले हालै प्रदेश नं. १ को पूर्ण बैठक सम्पन्न गरिसकेको छ भने भाद्र २१ गते बागमती प्रदेश र भाद्र २८ गते गण्डकी प्रदेशमा पूर्ण बैठक गर्ने तयारी गरेको छ। कायम महासचिव निमेष ओलीका अनुसार छिट्टै नै मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि पूर्ण बैठक तथा प्रदेश–जिल्लास्तरीय भेला र सम्मेलन आयोजना गर्ने योजना बनाइएको छ।
ओलीले देशभर करिब १० हजार सदस्यता निर्माण गर्ने र आगामी वर्ष दोस्रो राष्ट्रिय सम्मेलन गर्ने लक्ष्य रहेको जानकारी दिए।
रिटर्नी सेन्टर नेपाल २०८० जेठ २६ गते स्थापना भएको हो। हालसम्म संस्थाले ७ प्रदेश र ६६ जिल्लामा संगठन विस्तार गरिसकेको छ भने ५० पालिकामा समेत शाखा गठन भएको छ।