एमाले नेता महेश बस्नेत साइबर ब्युरोमा बयान दिएर फर्किए

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले प्रहरीको साइबर ब्युरोमा बयान दिएर फर्किएका छन्।

विद्युतीय कारोबार ऐन, २०६३ उल्लङ्घन गरेको आरोपमा परेको उजुरीमाथि उनलाई सोधपुछका लागि बोलाइएको थियो। साइबर ब्युरोका एक अधिकारीका अनुसार, बस्नेत बुधबार बिहान १० बजे ब्युरो पुगेका थिए, र बयानपछि उनलाई छाडिएको छ।

बस्नेतविरुद्ध शोभा पाठक नामक एक महिलाले चरित्र हत्या गरेको भन्दै उजुरी दिएकी थिइन्। सुरुमा प्रहरीले उजुरी दर्ता गर्न आनाकानी गरेको थियो। त्यसपछि पाठक सरकारी वकिलको कार्यालय पुगेकी थिइन्, र कार्यालयको निर्देशनपछि प्रहरीले उजुरीमाथि अनुसन्धान अघि बढाएको हो।

यसैबीच, बस्नेतले नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मामाथि देशमा भ्रम फैलाएको आरोप लगाए। उनले शर्माले ‘व्यवस्था परिवर्तन भयो, तर अवस्था परिवर्तन भएन’ भन्ने भाष्य सुरु गरेको र माओवादी अध्यक्ष प्रचण्डले त्यसलाई थप बल पुर्‍याएको दाबी गरे।

‘पछिल्लो समय रवि लामिछानेले ‘नो नट अगेन’ जस्ता नारा ल्याएर भ्रमको खेती गरिएको छ,’ बस्नेतले भने, ‘मुलुक स्वाभाविक रूपमा अघि बढिरहँदा यस्ता भ्रामक कुराले बाधा पुर्‍याइरहेको छ।’





Comments

comments

133546