एचकेनेपाल डट कम –
काठमाडौं, २२ असोज । नेकपा एमालेका स्थायी कमिटी सदस्य महेश बस्नेतले ‘जेनजी’ को नाममा भइरहेको अराजकताविरुद्ध देशव्यापी अभियान सञ्चालन गरिने घोषणा गरेका छन्। दसैंको समय सकिएसँगै एमाले र नेपाली कांग्रेसका भ्रातृ संगठनहरूले हातेमालो गर्दै संयुक्त रूपमा अगाडि बढ्ने उनले बताए।
बस्नेतले भने, “अब अनेरास्ववियू र नेविसंघ, तरुण दल र राष्ट्रिय युवा संघ एकसाथ अगाडि बढ्नेछन्। हामी भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुनेछौं र जेनजीको नाममा भइरहेको बदनामी रोक्न डिजिटल जेनजीको अवधारणालाई देशभर फैलाउनेछौं।” उनले भ्रष्टाचारविरुद्ध लड्ने क्रममा आफूहरूमाथि कुनै आशंका भए छानबिनलाई स्वागत गर्ने र अरूको पनि छानबिन हुनुपर्ने बताए।
पूर्वमन्त्री बस्नेतले उर्जामन्त्री कुलमान घिसिङमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसदीय समितिमा मुद्दा दर्ता भइसकेकाले उनको छानबिन हुनुपर्ने माग गरे। साथै, अर्थमन्त्री रामेश्वर खनालबाट सम्पत्ति शुद्धीकरणको अभियान सुरु गर्नुपर्ने उनको जोड थियो।
बस्नेतले जेनजी आन्दोलनका नाममा अराजकता र आतंकवादी गतिविधि भएको भन्दै यसका वास्तविक मुद्दा अपहरण भएको आरोप लगाए। उनले २३ र २४ गतेको आन्दोलनलाई अरबी मुलुकको जस्तो भएको र यसले ठूलो जनधनको क्षति पुर्याएको दाबी गरे। “जेनजी पुस्तालाई बदनाम गर्न हजारौं फेक एकाउन्टमार्फत चार घण्टामै देशलाई बर्बाद पार्ने प्रयास भयो,” उनले भने।
बस्नेतले काठमाडौंका मेयर बालेन शाहको योजनामा जेनजी आन्दोलनका नाममा नेताहरूको घर लक्षित गरिएको र साइबर अपराधमार्फत लुटपाट भइरहेको आरोप लगाए। उनले सुदन गुरुङजस्ता व्यक्तिलाई अन्तर्राष्ट्रिय शक्तिहरूले प्रयोग गरेर राज्य संयन्त्र कब्जा गर्न खोजिएको दाबी गरे। “सुदन गुरुङले अनाधिकृत रूपमा सरकार र सरकारी निकायलाई निर्देशन दिन खोज्छन्, यो गम्भीर विषय हो,” उनले थपे।
नेकपा एमालेको पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बस्नेतले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ‘व्यवस्था बदलिए पनि अवस्था नबदलिएको’ भन्ने भाष्य सुरु गरेको र माओवादी अध्यक्ष प्रचण्डले त्यसमा थप मसला हाल्दै भ्रम फैलाएको आरोप लगाए। उनले भने, “रवि लामिछानेको ‘नो नट अगेन’ नारा र अन्य शक्तिहरूले भ्रमको खेती गरेर मुलुकलाई गलत दिशामा लैजान खोजिएको छ।”
बस्नेतले राष्ट्रियता, लोकतन्त्र र जनहितको पक्षमा नेकपा एमाले सधैं अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरे। उनले जेनजी आन्दोलनका नाममा भइरहेको दुरुपयोग रोक्न र सुशासनको पक्षमा काम गर्न सबैलाई आह्वान गरे।