सहारा एकेडेमी सहयोगार्थ च्यारिटी डिनर नाइट हुने

पोखरा, सहारा क्लब पोखराले यस वर्ष च्यारिटी डिनर नाइट कार्यक्रम गर्ने भएको छ। क्लबद्वारा पोखरा–१७, दोबिल्लामा सञ्चालित सहारा आवासीय फुटबल एकेडेमी सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको क्लब अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए।

तिहारमा हरेक वर्ष आयोजित हुँदै आएको देउसी भैलो कार्यक्रम यसपालि स्थगित गरी च्यारिटी डिनर नाइट कार्यक्रम गर्न लागिएको उनले प्रष्ट पारे। कार्यक्रम कात्तिक १४ गते शुक्रबार पोखरा माटेपानीस्थित एस.आर.केसी ब्याङ्क्युटमा हुनेछ। जसमा स्थानीय कलाकारहरुले गायनका साथै हिमाली सांस्कृतिक परिवारले नृत्य प्रस्तुत गर्नेछ।

एकेडेमी सहयोगार्थ भएकाले कार्यक्रममा सहभागी हुन चाहनेले जनही २५ सय बुझाउनुपर्नेछ । त्यसवापत् खाना, मनोरञ्जन तथा विभिन्न सांस्कृतिक कार्यक्रम अवलोकन गर्न पाइनेछ । कार्यक्रमबाट बचत हुन आएको रकम एकेडेमीमा खर्चिने क्लब अध्यक्ष थापाले बताए।

सहारा एकेडेमीका हाल चौथो ब्याचमा १४ जिल्लाका कठिन परिस्थिति तथा विपन्न वर्गका ३० जना बालकहरु आश्रित छन् । उनीहरुलाई क्लबले निःशुल्क आवासीय सुविधासहित शिक्षादीक्षा तथा फुटबल प्रशिक्षण दिँदैआएको छ।





Comments

comments

133781