नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो, अमेरिका। कोलोराडोको विभिन्न शहरमा नेपाली सांस्कृतिक केन्द्र नेपाली घरको सहयोगार्थ आयोजित देउसी भैलो कार्यक्रमबाट १७ हजार ४० डलर संकलन भएको छ।
कोलोराडोमा सक्रिय संस्था नेपाली घरको संयोजन तथा स्थानीय संघसंस्था र समाजसेवीहरूको सहयोगमा नेपालीहरूको दोस्रो ठूलो महान् चाड तिहारको अवसरमा देउसी भैलो कार्यक्रम अक्टोबर २१ मा सम्पन्न भएको हो। विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि शुभकामना आदानप्रदानसहित नेपाली सांस्कृतिक केन्द्रको सहयोगार्थ देउसी भैलो कार्यक्रम आयोजना गरिएको थियो।
देउसी भैलो खेलिएका स्थानहरूमा कोलोराडोको दक्षिणी क्षेत्र अरोराको सेन्टेनियल र नेपाली सांस्कृतिक केन्द्र नेपाली घर रहेका छन्। अरोराको सेन्टेनियलमा स्थानीय समाजसेवी राज ढुंगानाको संयोजनमा अक्टोबर १७ तारिख शुक्रबार साँझ ६ बजेदेखि राति ९:३० बजेसम्म सञ्चालित देउसी भैलो कार्यक्रममा ६ हजार ७७९ डलर संकलन भएको नेपाली घरका वरिष्ठ उपाध्यक्ष गंगा चौलागाईंले बताएका छन्।
यसैगरी, नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा बोर्ड अफ डिरेक्टर चन्द्रकान्त अधिकारीको संयोजन तथा कल्चर एण्ड इभेन्ट अफिसर दिनेश कार्कीको सहसंयोजनमा अक्टोबर १९ तारिख आइतबार साँझ ५ बजेदेखि ९ बजेसम्म आयोजित देउसी भैलो कार्यक्रमबाट १० हजार २६१ डलर संकलन भएको नेपाली घरका महासचिव भोला कटुवालले बताएका छन्।
विशेषगरी नयाँ पुस्तालाई हाम्रो रहनसहन, भाषा, संस्कृति तथा भेषभूषाको जानकारी गराउन, यहाँका स्थानीय बासिन्दाहरूलाई नेपाली भाषा र संस्कृतिको पहिचान गराउन तथा नेपालीभाषी समुदायको आस्थाको केन्द्र नेपाली सांस्कृतिक केन्द्रलाई आर्थिक सहयोग जुटाउन यो देउसी भैलो कार्यक्रम आयोजना गरिएको हो।
प्रवासमा यस्ता कार्यक्रमले मातृभूमिको स्मरण गराउने र कर्मथलोमा जन्मथलोको संस्कृति पहिचान गराउने नेपाली घरका पूर्वअध्यक्ष लक्ष्मण रानाले बताएका छन्। उनले नेपालीभाषी समुदायको आस्थाको धरोहर नेपाली सांस्कृतिक केन्द्र भवनको मर्मतसम्भार तथा मोरगेज तिर्न संकलित रकमले सहयोग पुग्ने बताए। संकलित रकम खर्च कटाएर नेपाली घरको खातामा जम्मा गरिने बताइएको छ।
दुवै स्थानका कार्यक्रममा साना बालबालिकाहरूले नेपालको राष्ट्रिय गान गाएर कार्यक्रम अगाडि बढाएका थिए। कार्यक्रममा गायिका संजना पाण्डेलगायत विभिन्न कलाकारहरूको सुमधुर गीतसंगीतले श्रोता र दर्शकको मन जित्न सफल भएको थियो। कार्यक्रममा साना भाइबहिनीहरूले कुशल नृत्य प्रदर्शन गरेका थिए। अरोराको देउसी भैलोमा ५३ परिवारले नाम लेखाएर दान दिएका थिए भने नेपाली सांस्कृतिक केन्द्रमा ७३ परिवारले नाम लेखाएर र केहीले नाम नलेखाई नाङ्लोमा राखेर दान दिएका थिए।
देउसी भैलो कार्यक्रममा कोलोराडोमा बसोबास गर्ने गन्यमान्य, समाजसेवी, संघसंस्थाका पदाधिकारी, कलाकार, पत्रकार, बुद्धिजीवी, व्यापारी तथा नेपालीभाषी बाआमा, दाजुभाइ, दिदीबहिनीको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा अधिकांश सहभागी पुरुषहरू दौरा–सुरुवाल र ढाकाको टोपीमा तथा महिलाहरू साडी र चोलोमा सहभागी भई कार्यक्रमको शोभा बढाएका थिए। कोलोराडोमा नेपाली घरको संयोजन र स्थानीय संघसंस्थाको सहभागितामा हरेक वर्ष देउसी भैलो कार्यक्रम आयोजना हुँदै आएको छ।