नेपाल कप बेलायतको उपाधि क्वीन्स गोर्खा इन्जिनियरलाई

रोशन मेवाहाङ्ग / एचकेनेपाल डट कम –
लण्डन, २६ असार । नेपालबाट धेरै टाढाको देश प्रवासी भूमिमा रहेपनि बेलायतमा नेपाली फुटबल प्रतियोगिता निकै चर्चित र आकर्षण बन्दै आएको पाईन्छ।

अल्डरसटस्थित क्वीन्स एभिन्यू सैनिक ग्यारिजनको रंगशालामा शनिवार सम्पन्न खेलमा क्वीन्स गोर्खा इन्जिनियरले तालिम केन्द्र क्याट्रिकलाई १–० ले हराउदै नेपाल कप प्रतियोगिताको उपाधि हात पारेको हो।

विग्रेड अफ गोर्खाजको प्रायोजनमा हरेक बर्ष हुने नेपाल कप प्रतियोगिताको यो बर्ष ६४ औ संस्करण हो। यो बेलायतको नेपाली समुदायमा आयोजना हुने सबै भन्दा पुरानो र चर्चित प्रतियोगिता हो।

नेपाल कप नेपालका पूर्वप्रधानमन्त्री महाराजा मोहन शमशेर जंगबहादुर राणाले गोर्खा विग्रेड भारतबाट स्वतन्त्रता भएपछि सन १९४७ सालमा पहिलो पटक सुरुवात गराएका थिए।

यो बर्ष प्रतियोगितामा दोस्रो गोर्खा बटालियन, क्वीन्स गोर्खा इन्जिनियर,तालिम केन्द्र क्याट्ररिक, गोर्खा मण्डले, गोर्खा सिताङ,पहिलो गोर्खा बटालियन,क्वीन्स गोर्खा सिङ्नल,क्वीन्स ओन गोर्खा लजिस्टिक रेजिमेन्ट,क्लोज सर्पोट टु«प्स्, गोर्खा स्टाफ पर्सनल सर्पोट कम्पनी (जियस पियस)लगायत १० टिमले प्रतिस्पर्धा गरेका थिए ।

गत ३१ मे मा विग्रेड अफ गोर्खाज मुख्य कार्यालयका परियोजना अधिकृत क्याप्टेन मुक्ति प्रसाद गुरुङले गोर्खा रेडियो मार्फत खेल तालिका सार्वजनिक गरेका थिए । उक्त सार्वजनिक समारोहमा क्याप्टेन धइलेन्द्र केसी उपस्थित रहेका थिए।

नेपाल कप विग्रेड अफ गोर्खाज भित्र विशेष महत्वपूर्ण खेलकुद प्रतियोगिता मानिन्छ । प्रवासी भूमिमा विशेष लाहुरे परिवार भेटघाट र मनोरन्जन गरिने प्रथा चलिआएको थियो । अहिलेको आधुनिक परिवेशमा प्रेमी प्रेमिका, ईष्टमित्र,आफन्त र हितैसी दौंतरीहरु भेटघाट गरिने चौशाला बनेको देखिन्छ । झण्डै ७ हजार दर्शक प्रत्येक बर्ष सहभागी रहने आयोजकले जनाएको छ।

खेलको नतिजा;
अल्डरसट सैनिक ग्यारिजनको रंगशालामा ३० जुनबाट नकाउट चरण सुरुवात गरिएको थियो । दोस्रो गोर्खा बटालियनलाई सेमिफाइनलमा हराउदै तालिम केन्द्र फाईनलमा प्रवेश गरेको हो । दोस्रो गोर्खा बटालियनले सन २०१३ मा टिम प्रबन्धक कलर सार्जन्ट अरुणहाङ नेम्बाङको नेतृत्वमा ईतिहासमै पहिलो पटक नेपाल कपको उपाधि जिताएका थिए । यो बर्ष नेटो सुरक्षाको लागि बटालियन काबुलमा खटिएका कारणको बावजुद उपाधि हात पार्ने यात्रा टुङ्गिएको कलर सार्जन्ट नेम्बाङले बताए।

शनिबार भएको फाइनल खेलमा क्वीन्स गोर्खा इन्जिनियर र तालिम केन्द्र क्याट्ररिकले फाइनल प्रतिष्पर्धा गरेका छन् । प्रतियोगिताको फाइनल खेलमा इन्जिनियरका टिम क्याप्टेन अर्पण गुरुङले पहिलो गोल गदै आफनो समूहलाई अग्रता दिलाएका थिए । निर्धारित समय ९० मिनेट सम्म पनि विपक्ष समूहले गोल गर्न नसकेपछि क्याप्टेन अर्पणको गोल निर्णायक गोल बनेको थियो । उक्त प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी तालिम केन्द्रका कर्पोल निरज गुरुङ म्यान अफ दि म्याच घोषित भए।

काठमाडौं कप
१० प्रतिस्पर्धी समूहले भाग लिएको सो प्रतियोगितामा अवकाश प्राप्त गोर्खा सैनिकहरु भेट्रानतर्फ खेलिने प्रतियोगितालाई काठमाडौं कप भन्ने गरिन्छ । प्रमुख विजेता टीम क्वीन्स गोर्खा इन्जिनियर र उपविजेता तालिम केन्द्र क्याटरिकले मेडल तथा प्रमाणपत्र पाएका थिए । विजेता तथा उपविजेता टीमलाई नेपाल कपका प्रमुख कर्णेल रविन्सनले फुटबल प्रतियोगिताको समापन समारोहमा पुरस्कार वितरण गरेका हुन्। संसारभर चर्चित बनिरहेको विएफ विएस गोर्खा रेडियोका प्रस्तोता विनोद खड्का र लाल शाहीले प्रत्यक्ष प्रसारण गरेका थिए।

प्रतियोगिताको मुख्य आकर्षण;
अल्डरसट सैनिक ग्यारिजनमा पारासुट प्रदर्शन गत बर्षबाट जम्प गर्न सुरुवात गरिएको हो । नेपाल कपको थप मुख्य आकर्षण गराउदै पारासुटबाट नेपाल, बेलायत र विग्रेड अफ गोर्खाजको झण्डा फर्रफराउदै पाराजम्परहरु रंगशालाको सहि निशानीमा झरेका दृश्य दर्शककालागि मुख्य आकर्षण रहेको फुटबल खेल प्रेमीहरु बताउँछन्।

खेलको उद्घाटन समारोहमा गोर्खा व्रिगेड व्यान्डको विशेष प्रस्तुती रहेको कार्यक्रममा, अन्य च्यारिटी तथा व्यापारिक स्टलहरु गोर्खा कपका आकर्षण रहेका थिए । नेपाली मेलाको रुपमा मानिने प्रतियोगितालाई नेपाली दूतावास लण्डन, गैरआवासीय नेपाली संघ बेलायत, नेपाली समुदायले साथ दिदै आएका छन् ।

बेलायतमा रहेका प्रत्येक नेपालीहरु, भावी सन्ततीहरु लगायत बृद्वबृद्वा, छोरीचेलीहरु र आफ्न्तहरुमाँझ भेटघाट गर्ने शुभ अवशर मिलोस भन्ने मनसायले उक्त प्रतियोगिता हुदै आएको र खेल प्रेमीहरुको खेलमा प्रगती होस साथै खेल खेलेर भरपूर मनोरन्जन मिलोस भन्ने उदेश्यले हरेक बर्ष भेटघाट मनोरञ्जन तथा प्रतिस्पर्धात्मक फुटबल खेल प्रतियोगिताको आयोजना गदै आएको गोर्खाकपका प्रमुख संयोजक कर्णेल जेम्स् रविन्सनले बताए ।





Comments

comments

Leave a Reply

13426