समन्वयबिना ठेक्का दिँदा घोडाघोडी तालका विषयमा विवाद

कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क उठाउने विषयलाई लिएर विवाद चर्किँदै गएको छ । घोडाघोडी नगरपालिकाले गत भदौमा ताल क्षेत्रमा प्रवेश शुल्क सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि विवाद सुरु भएको हो।

उक्त बोलपत्र खप्तड निर्माण सेवा, बाजुराले पाएको छ । विगतदेखि ताल संरक्षणमा सक्रिय सामुदायिक वन र सरोकार भएका सङ्घसंस्थासँग आवश्यक समन्वय नगरी नगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै विवाद सिर्जना भएको हो।

विवादका कारण ठेक्का पाएको तीन महिना बितिसक्दा पनि काम गर्न नपाएको निर्माण कम्पनीका प्रतिनिधि विक्रम रावलले गुनासो गरे । उनका अनुसार बोलपत्रबापत रु १६ लाख ४० हजार नगरपालिकामा जम्मा गरिसकिएको अवस्थामा हालसम्म कार्यस्थलमा काम गर्ने अवस्था बनेको छैन । “आफ्नै ठाउँमा केही गर्ने उद्देश्यले लागेका हौँ, तर अहिले काम गर्न पाइएको छैन”, रावलले भने।

घोडाघोडी ताल क्षेत्रमा प्रवेश शुल्क विगतका वर्षमा घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चले सङ्कलन गर्दै आएको थियो। त्यसपछि भने घोडाघोडी सामुदायिक वनले उक्त शुल्क सङ्कलन गर्दै आएको छ।

ताल क्षेत्रको संरक्षण आफूहरूले गर्दै आएकाले प्रवेश शुल्क लिने अधिकार पनि सामुदायिक वनको हुनुपर्ने आफूहरूको माग रहेको घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहले बताए । उनले सरोकार भएका निकायसँग कुनै किसिमको समन्वय नगरी नगरपालिकाले बोलपत्र आह्वान गर्न नहुने धारणा राखे।

स्थानीय उपभोक्ताले संरक्षण गर्दै आम्दानी लिन थालेको केही समयमै स्थानीय सरकारले हस्तक्षेप गरेको भन्दै आक्रोशित बनेका सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीले डिभिजन वन कार्यालय पहलमानपुरमा निवेदनसमेत दिएका छन्।

यसैबीच, नगरप्रमुख खडकबहादुर रावतले प्रवेश शुल्कसम्बन्धी विवाद समाधानका लागि सरोकार भएका निकायका प्रतिनिधिबीच छलफल भइरहेको बताए । “तीन महिना भइसक्दा पनि ठेक्का पाउनेहरूले काम गर्न पाउनुभएको छैन । सबै सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल र समन्वय गरेर विवाद समाधान गरी काम गर्ने वातावरण बनाउने छौँ”, उनले भने।





Comments

comments

134835