नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
डिसेम्बर ३१, कोलोराडो, अमेरिका। तमु ल्होछारको अवसरमा कोलोराडो निवासी तमुहरूले विभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दै ल्होछार भव्यताका साथ सम्पन्न गरेका छन्।
तमु प्ये ल्हु संघ अमेरिकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले आफ्नो संस्कृति परम्परा अनुसार सर्प वर्षलाई बिदाइ गर्दै घोडा वर्षलाई स्वागत गरेका हुन्।
शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ भन्ने भनाइलाई आत्मसात गर्दै अमेरिकाको विभिन्न राज्यहरूमा बसोबास गर्ने तमु जातिको धर्म, संस्कार, संस्कृति, परम्परा, भाषा, भेषभुषा आदिको संरक्षण, सम्बर्धन, अनुसन्धान र प्रबर्धन साथै समग्र आर्थिक, सामाजिक र शैक्षिक विकास वृद्धिमा टेवा दिने उद्देश्यले तमु प्ये ल्हु संघ अमेरिका, कोलोराडोमा सन् २०१४ मा स्थापना भएको थियो।
हरेक वर्ष नेपाली पात्रो अनुसार ल्होछार पुस १५ देखि मनाइन्छ। जसमा १५ पुसको मध्यरातदेखि वर्ष फेरिने गर्दछ र हरेक १२ वर्षपछि फेरि त्यही वर्ष आउँछ। सोही अनुसार सर्प वर्षलाई बिदाइ गर्दै घोडा वर्षलाई स्वागत गरिएको हो।
तमु समुदायको धर्म संस्कृति अनुसार संस्थाका निवर्तमान अध्यक्ष तथा खेगी विभागका प्रमुख टोउ क्रोम्छे तमु, पच्यू चीव टिकबहादुर न्गोर्में तमु तथा सञ्चालक समितिका सदस्य केशबहादुर ल्हेगे तमु, चन्द्र ल्हेगे तमुहरूबाट विधिपूर्वक त्हे सम्पन्न गरी खेगी पच्यू चीव टिकबहादुर न्गोर्में तमुको आशीर्वाद, प्रार्थना तथा शुभकामना साथै औपचारिक कार्यक्रम शुरू भएको थियो।
बोल्डर शहरका मेयर आरोन ब्रोकेट प्रमुख अतिथितामा सम्पन्न भएको उक्त ल्होछार कार्यक्रम तमु, नेपाली तथा अमेरिकाको राष्ट्रिय गानसँगै अगाडि बढेको थियो। कार्यक्रमका प्रमुख अतिथि, खेगी तथा कार्यक्रमका सभापतिबाट पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा एनआरएनए एनसीसी यूएसएका महासचिव रामचन्द्र पन्त, हेल्पिङ ह्यान्ड्सका अध्यक्ष नारायण श्रेष्ठ, तमु धी कोलोराडोका अध्यक्ष सन्तोष गुरुङ, रकी माउन्टेन फ्रेन्ड्स अफ नेपालका अध्यक्ष आकृति राई, नेपाली घरका महासचिव भोला कटुवाल, ग्लोबल फिल्म अवार्ड अध्यक्ष नवराज श्रेष्ठ लगायत कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, संस्थाको सहयोगी दाता, गण्यमान्य, कलाकार, पत्रकार तथा तमु समुदायका सदस्य लगायत अन्य समुदायका महानुभावहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
तमु प्ये ल्हु संघका अध्यक्ष चक्रबहादुर क्रोम्छे तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्यक्ष ढकबहादुर ल्हेगे तमु र महिला विभाग सचिव प्रेमा टु क्लेह्प्रीले अतिथिहरूलाई स्वागत मन्तव्य दिएका थिए। त्यस्तै बुद्धिजीवी मिनबहादुर क्रोम्छे तमुले तमु जातिको संक्षिप्त इतिहास, ल्होछार किन, कहिले, कसरी र महत्व माथि प्रकाश पार्दै, बोल्डर तथा अमेरिकामा रहेका तमुहरू विभिन्न क्षेत्रमा सहभागिता र हातेमालो गर्दै जाने र सरकारी निकायबाट सहयोग र सहकार्यको लागि आह्वान गर्दै स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए।
सन्तोष क्रोम्छे तमु र कलि माया तमुले सञ्चालन गरेको उक्त कार्यक्रममा समुदाय मात्र होइन, भावी पुस्ताका च्याम्पियनहरूलाई पनि प्रेरणा दिने एक उत्कृष्ट खेलाडी तथा मार्गदर्शकका रूपमा स्थापित गरिसकेका दुई युवाहरू प्रिकासा गुरुङ सुनुवार र प्रतिक गुरुङ सुनुवारलाई संस्थाका अध्यक्ष तथा कार्यक्रम प्रमुख अतिथिबाट प्रशंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो। समारोहमा उपस्थित ९ वर्षमुनिका बालबालिकाहरूलाई मञ्चमा बोलाई सबैलाई गिफ्ट प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आरोन ब्रोकेटले ल्होछार जस्तो ऐतिहासिक तथा सांस्कृतिक पर्वको विशेष कार्यक्रम बोल्डर शहरमै आयोजना भएकोमा खुसी व्यक्त गरे। उनले तमु समुदायले आफ्नो भाषा, संस्कृति र परम्परालाई प्रवासमा पनि जीवित राख्दै भावी पुस्तामा हस्तान्तरण गर्ने प्रयास सराहनीय रहेको बताए।
यस्ता कार्यक्रमहरूले बोल्डर शहरलाई अझ बहुसांस्कृतिक, समावेशी र एकतामूलक बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थालाई सफल कार्यक्रमका लागि बधाई तथा धन्यवाद दिएका थिए। यसैगरी संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभापति चक्रबहादुर क्रोम्छे तमुले सप्ह्री ल्होछारको शुभकामना साथै कार्यक्रमलाई भव्य र सभ्य तरिकाबाट सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए।
कार्यक्रमको दोस्रो चरणमा तमु संस्कृति झल्कने गीत संगीत नृत्य प्रस्तुत गरी कार्यक्रममा उपस्थित महानुभावहरूलाई भरपूर मनोरञ्जन प्रदान गरिएको थियो। जसमा नेपालमा लोप हुन लागेको चुड्का नृत्यले सबैको मन जितेको थियो। सांस्कृतिक कार्यक्रममा संस्थाका कलाकारहरूको एक पछि अर्को बेजोड प्रस्तुतिले अझ माहोल तताएका थिए। कार्यक्रममा उपस्थित सबै तमु समुदायका सदस्यहरू र सबै कलाकारहरू तमु समुदायको परम्परागत भेषभुषा लगाएर सहभागी भएका थिए।
नेपालमा मूलतः ३ किसिमको ल्होछार मनाउने गरिन्छ। गुरुङहरूले तोला, तमाङहरूले सोनाम र शेर्पाहरूले ग्याल्पो ल्होछार मनाउने चलन छ। उनीहरूले यस सर्प वर्षलाई बिदाइ गर्दै घोडा वर्षलाई स्वागत गरेका छन्। ल्होछारमा परम्परा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुःख, दोषको ग्रह दशा शान्ति गराउँछन् र भोलिपल्ट नयाँ दिनको उदाउने घामसँगै नयाँ वर्षको स्वागत गर्दछन्। उनीहरू आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आशीर्वाद लिने गर्दछन्।


