नातिबाबु भट्ट / एचकेनेपाल डट कम-
कोलोराडो अमेरिका। कोलोराडोमा माघे सङ्क्रान्तिको अवसरमा मगर संस्कृति झल्कने माघे सङ्क्रान्ति विशेष कार्यक्रम सम्पन्न भएको छ।
मगर संघ अमेरिका कोलोराडो च्याप्टरको आयोजनामा यही जनवरी १७ तारिख शनिबार विविध मगर संस्कृति झल्काउने कार्यक्रम गर्दै माघे सङ्क्रान्ति पर्व मनाइएको हो। वेस्टमिन्स्टरस्थित नेपाली सांस्कृतिक केन्द्र नेपाली घरमा मगर संस्कृति अन्तर्गत पर्ने सालैजो, लाइभ कौडा, मारुनी लगायतका मौलिक सांस्कृतिक प्रस्तुति तथा परिकारहरू बटुक, तरुल, सेलरोटी साथै मगर भेषभूषाको प्रदर्शन रहेको थियो।
जहाँ रहे पनि, जहाँ बसे पनि, नभुलौं मातृभूमिलाई, जोगाई राखौं युगौँ-युग कला र संस्कृतिलाई भन्ने मूल नाराका साथ मगर समुदायको मौलिक संस्कृति, भाषा र पहिचान संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा समुदायका अगुवा, स्थानीय संघ-संस्थाका प्रतिनिधि, कलाकार तथा स्थानीय नेपाली भाषी समुदायका सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर तथा नेपालका प्रथम सहिद लखन थापा मगरको तस्बिरमा खादा ओढाई माल्यार्पण गर्दै शुरू गरिएको थियो। आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीस मगरको प्रमुख आतिथ्यता तथा मगर संघ अमेरिका कोलोराडो च्याप्टरका अध्यक्ष उपेन्द्र राना मगरको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाल र संयुक्त राज्य अमेरिकाको राष्ट्रिय गान बजाउँदै अघि बढाइएको थियो।
मगर संघ अमेरिका कोलोराडोका सचिव विक्रम बारघरेले सञ्चालन गरेको कार्यक्रममा मगर संघ अमेरिका कोलोराडो च्याप्टरकी सह-सचिव तथा कार्यक्रम संयोजक सृष्टिना पुर्जा मगरले स्वागत मन्तव्य राखेकी थिइन् भने केशव थापा मगर र भूमिका पुन मगरले स्वागत नृत्यमार्फत सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए।
समारोहमा मगर संघ अमेरिका कोलोराडो च्याप्टरमा विभिन्न जिम्मेवारी सम्हाल्दै निरन्तर योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। यसरी सम्मान हुनेहरूमा लछुमन राना मगर, कृष्णकुमार थापा मगर र टेकबहादुर थापा मगर रहेका छन्। उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका सदस्य डा. मीन श्रीस मगरले दोसल्ला ओढाएर तथा सभापति उपेन्द्र राना मगरले प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए।
त्यसैगरी सोही समारोहमा कार्यक्रमका प्रमुख अतिथि आदिवासी जनजाति आयोगका माननीय सदस्य डा. मीन श्रीस मगरको परिचय झल्कने श्रव्यदृश्य प्रस्तुत गरिएको थियो। कार्यक्रममा उनले मगर समुदायको भाषा, संस्कृति, पहिचान र उत्थानमा अमूल्य योगदान पुर्याएको भन्दै खादा तथा सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो। सम्मानपछि समारोहलाई सम्बोधन गर्दै मीन श्रीसले प्रवासमा रहेर पनि आफ्नो भाषा र संस्कृतिको संरक्षण तथा पहिचानका लागि अहोरात्र खटिरहनुभएका सबैलाई धन्यवाद दिँदै संस्कृति हराए पहिचान हराउने भएकोले भाषा र संस्कृतिलाई पुस्तान्तरण गर्ने वातावरण सिर्जना गर्न सबैलाई अनुरोध गरे।
त्यस्तै मगर संघ अमेरिका केन्द्रीय समितिका पश्चिम क्षेत्रका उपाध्यक्ष कृष्ण थापा मगरले सम्बोधन गर्दै समुदायको उन्नति र प्रगतिका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए। मगर संघ अमेरिका कोलोराडो च्याप्टरका सभापति उपेन्द्र रानाले सबैको साथ र सहयोगले कार्यक्रम सफल बनाउन सकिएको भन्दै उपस्थित सबैलाई धन्यवाद दिएका थिए।
औपचारिक कार्यक्रमको अन्त्य गर्दै सांस्कृतिक कार्यक्रम सुरु भएको थियो। जहाँ मगर समुदायको संस्कृति र पहिचान झल्कने कौराह, झ्याउरे, सोरठी तथा सालैजो नृत्य र गायन प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्थानीय कलाकारहरू माया आले मगर, विष्णु थापा मगर, सलिना राना, समीर राना, सुमिना बराल, नारायण ध्वज बुढा, उपेन्द्र राना मगर, राजु आले, भोजेन्द्र थापा, सृष्टिना पुर्जा, सजना सिकेनिशा पुन, सन्नी राना, समान्था राना लगायत कलाकारहरूको सुन्दर प्रस्तुतिले दर्शकको मन जित्न सफल भएका थिए।
कार्यक्रमको अन्त्यमा सहभागी सबै कलाकारहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रममा माघे सङ्क्रान्तिको परम्परा अनुसार तरुल, मासको बारा र सेलरोटी उपस्थित सम्पूर्ण सहभागीहरूलाई वितरण गरिएको थियो।
विश्व मानचित्रमा नेपाल भौगोलिक रूपमा सानो भए पनि सांस्कृतिक रूपमा विशाल छ। नेपालभित्र फुलेका सुन्दर जातीय फूलहरू मध्ये मगर जाति नेपालका आदिवासी समुदायहरूमा सबैभन्दा बढी सङ्ख्या भएको आदिवासी हो भने मौलिक कला, ज्ञान, परम्परा, संस्कार र संस्कृतिको धनी जाति हो। नेपालका मगर समुदाय विश्वभर छरिएर रहेका छन्। विश्वभर छरिएर रहेका मगरहरूको आधारभूत मौलिकता एकै भए पनि भेषभूषा, भाषिक र सांस्कृतिक रूपमा विविधता छ।
विविधतामा एकता नै मगर जातिको सुन्दरता हो भने निःस्वार्थ, सहयोगी भावना र कोमल हृदय मगर व्यक्तित्वको परिचय हो। मगरहरू मेहनती, इमानदारी र वीरताका लागि सुपरिचित छन्। मगरहरू पश्चिम र मध्यपश्चिम नेपालको पहाडी तथा मध्य हिमाली क्षेत्रमा सघन बसोबास रहेको छ भने नेपालको ७७ जिल्लामै मगरहरूको बसोबास रहेको छ।


