काठमाडौं । सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन् । उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन्।
कुल १ लाख ३५ हजार रुपैयाँ पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक खेलमा हरेक खेलाडीलाई ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय दिइएको थियो । लगातार नौ दिनको रोमाञ्चक प्रतिस्पर्धापछि द ब्रिटिश कलेजका सजल न्यौपाने (१९ अंक) उपविजेता भए भने संस्कार गुरुकुल स्कूलका आशिर्वाद थापा (१८ अंक) तेस्रो स्थानमा रहे।
हिमालयन च्यालेन्जर्समा शीर्ष वरीयताका अभिकले भने, ‘ब्लिट्ज र र्यापिड चेस चलेको यो बेला क्लासिकल चेसको प्रतियोगिता खेल्न पाउनु नै ठूलो कुरा हो । मैले पहिलोपटक लगातार नौ दिन खेल्न पाएँ । सबै खेल जिते पनि प्रतिस्पर्धा रोचक रह्यो । म र अन्य युवा खेलाडीको स्तरवृद्धिको लागि क्लासिकल चेस महत्वपूर्ण छ र हिमालयन च्यालेन्जर्सबाट हामीलाई धेरै नयाँ र आवश्यक कुरा सिक्ने अवसर मिलेको छ ।’ १७ वर्षीय उनी हिमालयन चेस एकेडेमीले आयोजना गरेको पहिलो प्रतियोगिता एसईई कपको विजेता पनि हुन्।
समापन समारोहमा हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू, प्रमुख अतिथि नेपाल सरकारका पूर्वसचिव जीवनप्रभा लामा, राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुमार लामा घिसिङ, कोसी प्रदेश बुद्धिचाल संघका अध्यक्ष सुरेन्द्रकुमार राई, काठमाडौं जिल्ला चेस संघका अध्यक्ष केशव श्रेष्ठ, साहसिक खेल विज्ञ राजीव चन्द, नेपाल स्टक एक्सचेन्ज (नेप्से) का निर्देशक टिका निधि लोहनी, ललिता राई लामा लगायतले पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरे।
स्विस लिग प्रणालीअनुसार नौ चरणमा सञ्चालित प्रतियोगितामा १९१८ रेटेड अभिकले सौर्य प्रताप सिंह कार्की, आशिर्वाद थापा, शुभांग प्रधान, सजल न्यौपाने, सात्विकमान तुलाधर, लियोन महर्जन, उजिभानी कँडेल, निहाना श्रेष्ठ र हार्दिकको चुनौती पन्छाउँदै शतप्रतिशत जितसहित अधिकतम २७ अंक जोडेर उपाधि कब्जा गरेका हुन् । उनले लगातार जितसहित अन्तिम खेल बाँकी छँदै उपाधि पक्का गरिसकेका थिए।
सजल र सात्विकको प्रतिस्पर्धा
प्रत्येक जितमा तीन र बराबरीमा एक अंक दिने नियमअनुसार सजलले ६ जित, १ बराबरी र २ हारको नतिजासँगै १९ अंक जोडे । उनले अन्तिम खेलमा सात्विकमानलाई पराजित गर्दै दोस्रो स्थान सुरक्षित गरेका थिए । उक्त खेलमा जित हात पार्न सकेको भए सात्विक दोस्रो स्थानमा उक्लिने थियो।
आशिर्वादले अन्तिम खेलमा लियोन महर्जनलाई हराउँदै तेस्रो स्थान हात पारेका हुन्। उनले ५ जित, ३ बराबरी र १ हारको नतिजा निकाल्दै १८ अंक जोडेका हुन् । मातृभूमि स्कूलका प्रवीर केसीले पनि १८ अंक बटुले । तर, उनलाई टाइब्रेकर (बुकगोल्स) मा उछिन्दै आशिर्वाद शीर्ष तीनमा रहेका हुन्। उनले अन्तिम खेलमा निहानालाई पराजित गरे।
निहाना महिलामा प्रथम
महिलातर्फ निहाना श्रेष्ठ (१५ अंक) पहिलो भइन् । समान १५ अंक जोडे पनि टाइब्रेकरको आधारमा उजिभानी कँडेल दोस्रो र ओजस्वी श्रेष्ठ तेस्रोमा रहे । यू-८ तर्फ विराज सरिया (३ अंक), यू-१० मा शुभांग प्रधान (१५ अंक), यू-१२ मा हार्दिक पन्त (१७ अंक), यू-१४ मा प्रवीर केसी (१८ अंक) र यू-१६ मा विमश लोहनी (१७ अंक) प्रथम भए । अरिज राई (५ जित र ४ हारसहित १५ अंक) ले इमर्जिङ प्लेयरको अवार्ड प्राप्त गरे।
कुल २८ वटा स्कूल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० जना खेलाडी सहभागी हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा फिडे रेटेड १५ खेलाडीसँगै अनरेटेड १५ जना सहभागी थिए । दुर्लभ हुँदै गएको क्लासिकल चेस प्रतियोगिता युवा खेलाडीको स्तरवृद्धिको लागि आयोजना गरिएको र यो भव्य रूपमा सम्पन्न भएको हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूले बताइन् । प्रत्येक राउन्डको समाप्तिपछि पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठ र फिडे मास्टर रिजेन्द्र राजभण्डारीले खेलको विश्लेषण गरेका थिए।
एकेडेमीले आयोजना गरेको ११औं प्रतियोगिता हो– हिमालयन च्यालेन्जर्स क्लासिकल चेस । यसअघि हिमालयन चेस एकेडेमीले एसईई कप, हिमालयन १०० फर गिनिज वर्ल्ड रेकर्ड्स, हिमालयन तीज चेस टुर्नी, प्याट्रियोटिक पन च्याम्पियनसिप, हिमालयन डुओ, हिमालयन ब्लिट्ज कप, देशकै पहिलो फ्रिस्टाइल चेस प्रतियोगिता हिमालयन फ्रिस्टाइल च्याम्पियनसिप, हिमालयन १०० एक्स टु, हिमालयन क्वीन्स ग्याम्बिट र एचसीए युथ कप सफलतापूर्वक आयोजना गरेको थियो।
चेसलाई प्रवर्द्धन र विकास गर्ने उद्देश्यले २०८० साल चैत १ गते उद्घाटन गरिएको स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट, एड्भान्स र इलिट प्रोग्राम गरी ६ वटा कोर्समा करिब २ सयलाई थापाथलीस्थित आफ्नै चेस हल र भक्तपुर शाखामा प्रशिक्षण दिइसकेको छ । भर्चुअल रूपमा अनलाइन कक्षा नियमित भइरहेको छ । स्कूल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ । उसले कमनवेल्थ च्याम्पियन भारतीय इन्टरनेसनल मास्टर (आईएम) अतनु लहिरी ल्याएर काठमाडौंमा विशेष प्रशिक्षण पनि दिएको थियो।


