पोखरा, आयोजक सहारा क्लब पोखराले १२ वर्षपछि २५औं आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।
फाइनल खेलमा सहारा क्लबले जावलाखेल युथ क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखाएको हो।
यो सहारा क्लबको घरेलु मैदान पोखरा रंगशालामा भएको ऐतिहासिक उपलब्धि हो। फागुन ९ गते शनिबार भएको फाइनल खेलमा सहारा क्लबले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेसँगै १४ लाख १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ। उपविजेता जावलाखेल युथ क्लबले ७ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ।
प्रतियोगितामा सहाराका स्टाइकर मुकुन्दकुमार न्यूरे प्लेयर अफ दि टुर्नामेन्ट घोषित भए। उनले टेलजीको स्कुटर र ट्रफी पुरस्कार प्राप्त गरेका छन् । उनी उदीयमान खेलाडी पनि घोषित भए।
यसैगरी, सहाराकै टिकेन्द्र थापा उत्कृष्ट गोलकीपर, टेई डेनियल उत्कृष्ट डिफेन्डर, सुनिल रानामगर उत्कृष्ट प्रशिक्षक बने। प्लानिङ ब्वाइज युनाइटेडका पापा इबु केवे सर्वाधिक गोलकर्ता (३ गोल), जावलाखेलका बौबाकार सिसोखो उत्कृट मिडफिल्डर, जावलाखेलकै धवेन्द्र कुँवर उत्कृष्ट स्ट्राइकर घोषित भए।
यसैगरी, उज्वेकिस्तानको आभा फुटबल क्लबले फेयर प्ले टिम अफ दि टुर्नामेन्टको उपाधि जित्यो। फाइनल खेलमा सुशील लामा नै प्लेयर दि म्याच घोषित भएको प्रतियोगिता संयोजक पूर्णबहादुर गुरुङले जानकारी दिए । विधागततर्फ सबैले नगद २५ हजार र ट्रफी प्राप्त गरे ।
१२ टिम सहभागी भएको प्रतियोगितामा सहारा क्लबले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबलाई पेनाल्टी सुटआउटमा हराएर फाइनल प्रवेश गरेको थियो भने जावलाखेलले उज्बेकिस्तानको आभा एफसीलाई पराजित गर्दै फाइनल स्थान बनाएको थियो।
सहारा क्लबका खेलाडीहरूले उत्कृष्ट टिमवर्क र रक्षात्मक प्रदर्शनमार्फत उपाधि जितेका हुन्। यो जितले पोखराको फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ।


