हङकङमा बच्चाको दूध चोरी गरेको आरोपमा नेपाली महिला पक्राउ

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १ मे। हङकङको मंग ककस्थित लाङ्गह्याम प्लेसको एक सुपरमार्केटमा बच्चाको फर्मुला दूधका तीनवटा डिब्बा चोरी गरेको आरोपमा एक नेपाली महिलालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार, बिहीबार राति उक्त महिलाले करिब ९०० हङकङ डलर बराबरको तीन क्यान बच्चाको दूध चोरी गरेको आरोप छ। घटनाको सिसिटिभी फुटेज सोसल मिडियामा भाइरल भइरहेको छ।

फुटेजमा देखिएअनुसार, चोरी पक्राउ परेपछि महिला भाग्न खोज्दै थिइन्। उनको ह्यान्डब्याग बाटोमा खसेको थियो।

सुपरमार्केटका स्टाफ र सुरक्षा गार्डले उनलाई रोकेका थिए। महिला चिच्याउँदै हात जोडेर क्षमा मागिरहेकी थिइन्। तर एक स्टाफ सदस्यले उनलाई समात्दै भनेका थिए, “बच्चाको दूध चोरी? यो कति पटक गरिसक्यौ?”

घटनास्थलमा पुगेको प्रहरीले तत्काल उनलाई पक्राउ गरेको थियो। उक्त महिलाविरुद्ध चोरी मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





Comments

comments

138358