झापा । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवाहरू रोप्न सुरु गरेको छ।
भद्रपुर नगरपालिका–९ र १० मा अवस्थित वनमा असारभित्रै १५ हजार विभिन्न वनस्पतिका बोटविरुवा रोपिने वन समितिका अध्यक्ष अनुज खतिवडाले जानकारी दिए। उनले डिभिजन वन कार्यालय झापाको सहकार्यमा बिरुवा रोपन सुरु गरिएको उनले बताए।
उनका अनुसार खाली जमिनमध्ये १५ बिघामा रोपिने आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरूवा आइतबारदेखि सुरु गरिएको छ।
डिभिजन वन कार्यालय झापाको रु १५ लाख ५० हजार तथा वन समूहको रु दुई लाख २५ हजार लागत सहभागितामा वृक्षरोपण सम्पन्न गरिने समितिका अध्यक्ष खतिवडाले जानकारी दिए । उनले श्रीखण्ड, अगरू जस्ता दुर्लभ वनस्पतिदेखि बडहर, लटहर, बयर जस्ता फल तथा शतिसाल, वीरेन्द्र फूललगायत बिरूवा रोप्न थालिएको बताए।
डिभिजन वन कार्यालयका प्रमुख नथुनी गोहियार यादवले हरित पर्यटन विकास तथा पर्यावरणको सुरक्षाका लागि वृक्षरोपणलाई योजनाबद्ध रूपमा अगाडि बढाइएको भन्दै वनले ९० प्रतिशत बिरूवा हुर्काउने शर्तमा कार्यक्रम दिइएको बताए।
कुल ३४९ हेक्टर क्षेत्रफलमा फैलिएको यस चन्द्रगढी सामुदायिक वनमा यसअघि साल, कर्मा, जामुन र टिक जस्ता रैथाने प्रजातिका रुखहरूको बाहुल्यता रहँदै आएको छ । हाल भइरहेको नयाँ प्रजातिका बोटबिरुवाको वृक्षारोपणले यहाँको जैविक विविधतालाई थप मजबुत बनाउने विश्वास गरिएको अध्यक्ष खतिवडाले बताए।
वनभित्र रहेका प्राकृतिक सिमसार र पोखरीहरूका कारण यहाँ विभिन्न रैथाने तथा आगन्तुक चराचुरुङ्गीहरूको राम्रो बासस्थान रहेकाले चरा अवलोकनका लागि पर्यटकहरू आउने गरेका छन् । वन समितिले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न वनभित्र व्यवस्थित वनभोज स्थल, बाल उद्यान, विश्रामस्थल र प्रकृतिको आनन्द लिनका लागि पर्यावरणीय पदयात्रा मार्गसमेत निर्माण गरेर पर्यापर्यटनका गतिविधिहरूलाई तीव्रता दिएको छ। रासस


