म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैन्य सरकारले राजधानी न्यापिडोमा नजरबन्दमा राखेको जनाएको भए पनि उनलाई वास्तवमा कहाँ राखिएको छ भन्ने विषय अझै रहस्यमै छ।
सन् २०२१ को सैनिक ‘कू’ पछि सार्वजनिक रूपमा नदेखिएकी ८१ वर्षीया सुकीको ठेगाना सैन्य अधिकारी, राजनीतिज्ञ र राजधानीका स्थानीय बासिन्दासमेतलाई थाहा नभएको बताइएको छ।
सैनिक शासक मिन आङ ह्लाइङले अप्रिलमा सुकीलाई न्यापिडो जेलबाट नजरबन्दमा सारिएको घोषणा गर्दै त्यसलाई दयाको कदमका रूपमा प्रस्तुत गरेका थिए । तर आलोचकहरूले उनी अझै कडा निगरानीमा रहेको अज्ञात स्थानमा अलग्गै राखिएकाले यो निर्णय सुकीप्रतिको अन्तर्राष्ट्रिय दबाब कम गर्ने प्रयास मात्र भएको बताएका छन्।
न्यापिडो करिब १० लाख जनसङ्ख्या भएको विशाल योजनाबद्ध राजधानी हो । यहाँ जङ्गल, धानबारी र फराकिला बहुलेन सडकबीच सरकारी परिसरहरू छरिएर रहेका छन् । सहरको संरचना नै सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिएर निर्माण गरिएकाले यहाँ कसैको ठेगाना पहिचान गर्न कठिन हुने विज्ञहरूको भनाइ छ । सैन्य समर्थक युनियन सोलिडेरिटी एन्ड डेभलपमेन्ट पार्टी (युएसडिपी) का नेता थेइन तुन ओओले समेत सुकी कहाँ छन् भन्ने जानकारी आफूलाई नभएको स्वीकार गरेका छन्।
सन् २००५ मा तत्कालीन सैन्य शासक थान श्वेले राजधानी बनाएको न्यापिडोलाई राजनीतिक विद्रोह र बाह्य हस्तक्षेपबाट सत्ता सुरक्षित राख्ने उद्देश्यले विकास गरिएको सहरी योजनाकारहरूको विश्लेषण छ । विशाल संसद् भवन, खालीजस्तै देखिने सडक, मोबाइल इन्टरनेट अवरोध गर्ने प्रणाली र कडा सुरक्षा व्यवस्थाले सहरलाई बाहिरी संसारबाट अलग्गिएको अनुभूति गराउने उनीहरूको भनाइ छ । कोलम्बिया विश्वविद्यालयका सहायक प्राध्यापक तथा वास्तुविद् गालेन पार्डीका अनुसार न्यापिडोको बनोट परम्परागत सहरी योजनाभन्दा राजनीतिक नियन्त्रणलाई केन्द्रमा राखेर गरिएको हो।
स्थानीय बासिन्दाले पनि सहरका धेरै स्थान आफूहरूलाई समेत अपरिचित लाग्ने भएकाले सुकी कहाँ राखिएकी छन् भन्ने अनुमान गर्न नसकिने बताएका छन् । सुरक्षाका कारण नाम सार्वजनिक नगरेकी एक स्थानीय महिलाले सहरका धेरै सडक अझै आफूहरूलाई पनि अलमल लाग्ने बताउँदै सुकीको वास्तविक स्थानबारे कुनै जानकारी नभएको उल्लेख गरिन्।
स्वतन्त्रता सेनानी आङ सानकी छोरी सुकीले सन् १९८८ मा म्यान्मा फर्किएपछि प्रजातन्त्र आन्दोलनको नेतृत्व गरेकी थिइन् । त्यसपछि उनले वर्षौं नजरबन्द जीवन बिताएकी थिइन् र सन् १९९१ मा नोबेल शान्ति पुरस्कार प्राप्त गरेकी थिइन् । पछि सैनिक शासनले सीमित लोकतान्त्रिक व्यवस्थामा उनलाई शासन गर्न दिए पनि सन् २०२१ को सैनिक ‘कू’ पछि उनलाई पुनः गिरफ्तार गरिएको थियो । त्यसयता अधिकारवादी समूहहरूले राजनीतिक उद्देश्यले लगाइएका आरोपका आधारमा उनलाई कैदमा राखिएको भन्दै आलोचना गर्दै आएका छन्।
सुरक्षा निकायका दुई स्रोतले सुकीलाई नजरबन्दमा सारिएको भनिए पनि उनलाई कुन क्षेत्रमा राखिएको छ भन्ने जानकारी अधिकांश सुरक्षा अधिकारीसमेतलाई नभएको बताएका छन् । सुकीका छोरा किम एरिसले लन्डनबाट एएफपीसँग कुरा गर्दै आमालाई घरजस्तो सुविधा भएको निवासमा नभई निजी जेलसरहको स्थानमा राखिएको विश्वास व्यक्त गरे । उनका अनुसार अहिलेको अवस्था विगतका वर्षहरूमा उनले भोगेको नजरबन्द जीवनभन्दा खासै फरक छैन।
यसैबीच, सुकीको दललाई चुनावबाट बाहिर राखेर सम्पन्न गराइएको निर्वाचनपछि सैनिक समर्थक दल युएसडिपी सत्तामा पुगेको छ । युएसडिपीका सांसद आय चानले सुकीको राजनीतिक युग समाप्त भइसकेको दाबी गर्दै उनी रिहा भए पनि अब राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्न नसक्ने टिप्पणी गरे । तर सुकी कहाँ राखिएकी छन् भन्ने प्रश्नको जवाफ उनले पनि दिन सकेनन्। रासस


