कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९३० पुग्यो

काठमाडाैँ । कङ्गोमा फैलिएको इबोलाको प्रकोपबाट मृत्यु हुनेको सङ्ख्या कम्तीमा ९३० पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार शनिबारसम्म देशभर दुई हजार ३४४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा मात्र ३७ जनाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको उच्च मृत्युमध्ये एक हो।

पूर्वी कङ्गोमा गत मे १५ मा घोषणा गरिएको यो इबोला प्रकोप हालसम्मकै तीव्रगतिमा फैलिएको प्रकोप भएको अधिकारीले बताएका छन्। यसपटक फैलिएको ‘बुन्डिबुग्यो’ प्रजातिको इबोला भाइरस अन्य प्रकारको तुलनामा कम देखिने भए पनि यसविरुद्ध हालसम्म स्वीकृत खोप वा उपचार विधि उपलब्ध छैन।

सबैभन्दा बढी प्रभावित इतुरी प्रान्तमा सुरक्षा चुनौतीका कारण रोग नियन्त्रण तथा उपचारका प्रयास प्रभावित भइरहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार प्रकोप घोषणा भएयता स्वास्थ्य केन्द्र र उपचार टोलीमाथि कम्तीमा १२ वटा आक्रमण भएका छन्।

यसैबिच तलब नपाएको विरोधमा केही स्वास्थ्यकर्मीले काम छाडेका छन् । भाइरस सङ्क्रमणका कारण कम्तीमा ३६ जना स्वास्थ्यकर्मीको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल ७२४ जना सङ्क्रमित आइसोलेसन तथा अस्पतालमा उपचाररत छन् । प्रभावित क्षेत्रमा रोग नियन्त्रण, सङ्क्रमितको उपचार र निगरानीका प्रयासलाई तीव्र पारिएको जनाइएको छ। रासस





Comments

comments

139853