हङकङमा अत्यधिक गर्मी, हाइकिङ गएका एक पुरुषको मृत्यु

न्युज डेस्क / एचकेनेपाल डट कम –
हङकङ, १० अगष्ट । हङकङमा अत्यधिक गर्मी बढिरहेका बेला ताइ पो क्षेत्रमा हाइकिङ गरिरहेका ६४ वर्षीय एक पुरुषको मृत्यु भएको छ। प्लोभर कोभ रिजर्भोयर नजिकैको हाइकिङ ट्रेलमा उनी अचेत अवस्थामा फेला परेका थिए।

आइतबार दिउँसो करिब २ बजे अन्य हाइकर्सले उनलाई अचेत अवस्थामा देखेपछि उद्धारका लागि जानकारी गराएका थिए। घटनास्थलमा उद्धार टोली पुगेपछि उनलाई हेलिकप्टरमार्फत अस्पताल लैजाने प्रयास गरिएको थियो। तर अस्पताल पुर्‍याएपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मृतक फिलिपिनो नागरिक थिए र उनी हङकङ परिचयपत्रबाहक थिए। उनी हाइकिङका लागि आवश्यक पोसाकमा थिए। उनको टाउकोमा चोट देखिएको र नजिकैको ढुंगामा रगतसमेत भेटिएको प्रहरीले जनाएको छ। घटनास्थलमा कुनै संघर्ष भएको संकेत भने फेला परेको छैन।

हङकङमा पछिल्लो समय बढेको अत्यधिक गर्मीका कारण उनको मृत्यु हिटस्ट्रोकसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। यद्यपि, मृत्युको वास्तविक कारण पुष्टि गर्न प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसैबीच, हङकङमा आइतबार तापक्रम ३६.९ डिग्री सेल्सियससम्म पुगेको थियो, जुन सन् १८८४ मा तापक्रमको अभिलेख राख्न सुरु भएयताकै उच्च तापक्रम हो। शेउङ शुई क्षेत्रमा तापक्रम ३९.७ डिग्री सेल्सियससम्म पुगेको थियो।

अत्यधिक गर्मीका कारण हिटस्ट्रोक तथा गर्मीसँग सम्बन्धित अन्य स्वास्थ्य समस्या बढ्न सक्ने भन्दै हङकङका अधिकारीहरूले सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेका छन्। विशेषगरी दिउँसोको समयमा लामो समयसम्म घाममा नबस्न, पर्याप्त पानी पिउन र अत्यधिक शारीरिक गतिविधिबाट जोगिन सुझाव दिइएको छ।





Comments

comments

140220