कोलोराडोमा दिदीबहिनीको तीज विशेष जमघट : गीत, नृत्यसँगै दर खाएर साटे शुभकामना

नातिबाबु भट्ट / एचकेनेपाल डट कम –
कोलोराडो, अमेरिका। महिला दिदीबहिनीहरूको महान् चाड तीज नजिकिँदै गर्दा कोलोराडो निवासी दिदीबहिनीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम गरी शुभकामना आदान–प्रदान गर्दै सामूहिक तीजको दर खाएका छन्।

प्रवासमा रहेका महिला दिदीबहिनीहरूलाई एक्लो भएको महसुस हुन नदिन र सबै दिदीबहिनी एकै ठाउँमा जम्मा भई सुख–दुःख साटासाट गर्दै माइतीको झल्को मेटाउन कोलोराडो सिस्टर्स ग्रुप दिदीबहिनी समूहले आयोजना गरेको सामूहिक दर खाने कार्यक्रममा उपस्थित भई शुभकामना आदान–प्रदान गर्दै सामूहिक दर खाएका हुन्।

कोलोराडोको वेस्टमिन्स्टर सिटीस्थित Ultra Lounge मा शनिबार साँझ ५ बजेदेखि राति १० बजेसम्म सञ्चालन भएको तीजको दर खाने कार्यक्रममा संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, अभियन्ता, गन्यमान्य, समाजसेवी, व्यवसायी, सञ्चारकर्मी तथा नेपालीभाषी बुबाआमा, दिदीबहिनी तथा दाजुभाइहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रवासमा हाम्रो धर्म–संस्कृतिअनुसारका चाडपर्वको दिन सार्वजनिक बिदा नहुने र त्यसै आसपासमा यसरी जमघट भएर तीज मनाउन विभिन्न कारणले सम्भव नहुने हुनाले प्रायः धेरै दिदीबहिनीहरू उपस्थित हुन सक्ने समय मिलाई तीजभन्दा केही समय अगाडि नै यस्ता सामूहिक कार्यक्रम गरिने गरिएको छ।

कार्यक्रमको सुरुमा सिस्टर्स ग्रुप दिदीबहिनी समूहकी अध्यक्ष शान्ति भुषालले उपस्थित सबैलाई स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेकी थिइन्। यसैगरी, उनले कार्यक्रम सफल बनाउन तन, मन र धन दिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिइन्।

समारोहमा दिदीबहिनीहरूले प्रवासमा रहँदा भोगेका सुख–दुःखका घटनालाई गीत बनाई परम्परागत मौलिक भाका तथा लयमा गाउँदा साँच्चै मातृभूमिको तीजको रमझम स्मरण गराएको थियो।

कार्यक्रमलाई थप मनोरञ्जन प्रदान गर्न राफल चिट्ठासमेत व्यवस्था गरिएको थियो। जसमा राफल चिट्ठाका विजयी दिदीबहिनीहरूलाई साडी, शृङ्गारका सामग्री तथा गिफ्ट कार्ड प्रदान गरिएको थियो। त्यसैगरी, कार्यक्रमलाई सफल बनाउन आर्थिक सहयोग गर्ने सहयोगी संघ–संस्था तथा दाताहरूको नाम पढेर सुनाइएको थियो।

यसरी कार्यक्रममा उपस्थित दिदीबहिनीहरूले तीजका गीत गाउँदै, नाचगान गर्दै, आफैंले बनाएको सेलरोटी, दही लगायतका स्वादिष्ट भोजनहरू खाँदै एकआपसमा शुभकामना साटासाट गरी तीज मनाएका थिए।

सिस्टर्स ग्रुप सन् २०१७ देखि कोलोराडोका दिदीबहिनीहरू संगठित भएर विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रमका लागि आवश्यकताअनुसार आर्थिक सहयोग संकलन र हस्तान्तरण तथा महिला हकहितजस्ता सामाजिक कार्यका लागि निरन्तर अग्रसर हुँदै आएको संस्था हो।

यस बाहेक कोलोराडोमा अगस्ट २२ तारिखमा रातो रौनक माइल हाई तीज ब्रुमफिल्डमा, अगस्ट २९ मा एरी कम्युनिटी तीज र सेप्टेम्बर ५ मा टुकी तीज कार्यक्रम हुने आयोजकहरूले बताएका छन्।





Comments

comments

140231