पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसमा पाँच खेलाडी, भोटिङ प्रक्रियामा नयाँ शैली

काठमाडौँ, नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने २३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८२ अन्तर्गत पिपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ।

एनएसजेएफले आइतबार पत्रकार सम्मेलन गर्दै पिपल्स च्वाइस अवार्डका लागि पाँच खेलाडीको मनोनयन सार्वजनिक गरेको हो। मनोनयनमा भलिबलकी मीना सुनार, फुटबलकी पूजा राना, करातेकी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स्ड मार्सल आर्ट्स (एमएमए) का रविन्द्र ढाँट परेका छन्।

सोही अवसरमा एनएसजेएफ र विद्युतीय भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती बाई आईएमईबीच पिपल्स च्वाइस अवार्डको भोटिङ पार्टनरका रूपमा सम्झौता भएको छ। सम्झौतापत्रमा खल्ती बाई आईएमईकी म्यानेजर पूजा धामी र एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले हस्ताक्षर गरे।

खल्ती बाई आईएमईकी म्यानेजर धामीले लगातार दोस्रो वर्ष पनि स्पोर्ट्स अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताइन्। उनले खेलाडीको सम्मानका लागि मञ्चले आयोजना गर्ने अवार्ड कार्यक्रम प्रशंसनीय रहेको बताइन्।

एनएसजेएफका अध्यक्ष अधिकारीले खल्ती बाई आईएमई परिवारप्रति आभार व्यक्त गर्दै सहकार्यले स्पोर्ट्स अवार्डलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे। महासचिव अञ्जन खड्काले पनि निरन्तर सहकार्यका लागि खल्ती परिवारप्रति धन्यवाद व्यक्त गरे।

एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले पिपल्स च्वाइस अवार्डलाई पल्सर स्पोर्ट्स अवार्डको महत्वपूर्ण विधाका रूपमा व्याख्या गरे। मनोनयनमा परेका खेलाडी महिनाभर चर्चामा रहने भएकाले यस विधाले समग्र स्पोर्ट्स अवार्डको गरिमा बढाउने उनले बताए।

भोटिङमा नयाँ शैली

यस वर्ष पिपल्स च्वाइस अवार्डको भोटिङ प्रक्रियामा एनएसजेएफले नयाँ व्यवस्था लागू गरेको छ।

विगतका वर्षमा समर्थकले आफ्नो मनपर्ने खेलाडीलाई एकैपटक आफूले चाहेको रकम बराबरको भोट गर्न सक्ने व्यवस्था थियो। यस वर्ष भने एक समर्थकले एउटै युजरबाट एक दिनमा एक पटक मात्र भोट गर्न पाउनेछ। एक भोटका लागि १० रुपैयाँ शुल्क तोकिएको छ।

अर्थात्, एउटै युजरले एक दिनमा एक पटक मात्र भोट गर्न सक्नेछ। तर समर्थकले हरेक दिन आफ्नो मनपर्ने खेलाडीलाई भोट गर्न पाउनेछन्।

एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले विगतको व्यवस्थामा समर्थकले आफूले चाहेजति रकमको भोट एकैपटक गर्न सक्ने भएकाले त्यसबाट योग्य उम्मेदवारभन्दा अन्यले अवसर पाउने आलोचना हुने गरेको बताए।

“विगतमा समर्थकले चाहे जति रकमको भोट एकैपटक हाल्न पाइन्थ्यो। यसले गर्दा योग्य उम्मेदवारभन्दा पनि अन्यले मौका पाउने आलोचना बढ्यो। मञ्चको उद्देश्य नाफा कमाउने नभई योग्य उम्मेदवारलाई अगाडि ल्याउनु हो। त्यसैले नयाँ तरिका अपनाइएको हो। यो व्यवस्थाबाट सबै पक्ष खुसी हुने विश्वास छ,” अधिकारीले भने।

यसरी छनोट हुनेछ विजेता

पिपल्स च्वाइस अवार्डको विजेता विभिन्न स्रोतबाट प्राप्त मतका आधारमा चयन हुनेछ। विजेता छनोटमा खल्ती बाई आईएमईबाट प्राप्त मतको भार ५० प्रतिशत रहनेछ।

बाँकी ५० प्रतिशत मतभार सामाजिक सञ्जाल फेसबुक, नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षक तथा एनएसजेएफका सदस्यबाट प्राप्त मतको हुनेछ।

फेसबुकबाट मतदान गर्दा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डको आधिकारिक फेसबुक पेज तथा पल्सर नेपालको आधिकारिक फेसबुक पेजमार्फत गर्नुपर्नेछ।

यस विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्नेछन्। गत वर्ष पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी हिमाल सुनारीले जितेका थिए।

पिपल्स च्वाइस अवार्डको ५० प्रतिशत मतभार रहेको डिजिटल वालेट खल्ती बाई आईएमईमार्फत भोटिङ सुरु भइसकेको छ।

मनोनयनमा परेका खेलाडी उत्साहित

एसियाली खेलकुदको व्यक्तिगत काता र टिम कातामा छनोट भएकी कराते खेलाडी सानुमाया थिङले पिपल्स च्वाइस अवार्डको मनोनयनमा पर्न पाउँदा खुसी लागेको बताइन्।

“यो सफलताका लागि म कराते परिवार, प्रशिक्षक मण्डेकाजी श्रेष्ठ तथा अन्य सबैलाई धन्यवाद दिन चाहन्छु। यसले मेरो खेल करिअरमा नयाँ ऊर्जा थपेको महसुस गरेको छु,” थिङले भनिन्।

भलिबलकी युवा खेलाडी मीना सुनारले पनि पिपल्स च्वाइस अवार्डको मनोनयनमा पर्नु आफ्नो लागि गर्वको विषय भएको बताइन्। मीना हाल एसियाली खेलकुदको बन्द प्रशिक्षणमा रहेकी छन्।

पत्रकार सम्मेलनमा पूजा राना, रविन्द्र ढाँट र शेर मल्ल विदेशमा रहेकाले उपस्थित हुन सकेनन्।

मनोनयनमा परेका खेलाडीको प्रोफाइल

मीना सुनार — भलिबल
उदीयमान महिला भलिबल खेलाडी मीना सुनार शक्तिशाली स्पाइकरका रूपमा परिचित छन्। उनले काभा महिला च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेकी छन्। काभा महिला क्लब च्याम्पियनसिपमा उनको टोली तेस्रो भएको थियो। उनी एभरेस्ट भलिबल क्लब, बुटवलकी कप्तानसमेत हुन्।

पूजा राना — फुटबल
पूजा रानाले एसियन कप छनोटअन्तर्गत उज्वेकिस्तानमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। उनले विदेशका व्यावसायिक लिगमा पनि प्रभावशाली प्रदर्शन गरेकी छन्। उनी भुटानको ट्रान्सफर युनाइटेड तथा बंगलादेशका फरासगन्ज एफसी र नासरिन स्पोर्ट्स एकेडेमीसँग आबद्ध भइसकेकी छन्।

सानुमाया थिङ — कराते
सानुमाया थिङले इजिप्टको कायरोमा भएको विश्व कराते च्याम्पियनसिपमा व्यक्तिगत कातामा सहभागिता जनाएकी थिइन्। २१औँ एसियन कराते च्याम्पियनसिपमा उनले कांस्य पदकका लागि प्रतिस्पर्धा गरेकी थिइन्। दक्षिण एसियाली कराते च्याम्पियनसिपमा उनले टिम कातामा स्वर्ण र व्यक्तिगत कातामा रजत पदक जितेकी छन्। यूकेकेसी वान अल्टिमेट काता तथा कुमिते च्यालेन्जमा पनि उनले स्वर्ण जितेकी छन्।

शेर मल्ल — क्रिकेट
शेर मल्लले आईसीसी टी–२० विश्वकपमा डेब्यु गर्दै पहिलो बलमै विकेट लिएका थिए। मलेसियामा भएको एसियन गेम्स क्वालिफायरमा उनले हङकङविरुद्ध चार तथा मलेसियाविरुद्ध तीन विकेट लिए। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा लुम्बिनी लायन्सलाई उपाधि दिलाउन उनको महत्वपूर्ण योगदान रह्यो। उनले एनपीएलका १० खेलमा १७ विकेट लिएका थिए।

रविन्द्र ढाँट — मिक्स्ड मार्सल आर्ट्स
‘बझाङका बाघ’का रूपमा परिचित रविन्द्र ढाँट नेपाली एमएमएका चर्चित खेलाडी हुन्। उनले गत वर्ष म्याट्रिक्स फाइट नाइट–१७ को बेन्टमवेट च्याम्पियनसिप जितेका थिए। उनी एसिया–प्यासिफिक क्षेत्रमा २०५औँ वरीयतामा रहेका छन्। रोड टु यूएफसीको सेमिफाइनलमा पुग्ने उनी पहिलो नेपाली फाइटर हुन्।





Comments

comments

140317