काठमाडाैँ। भारतको राजस्थानस्थित किशनगढमा सङ्गमरमर प्रशोधनबाट निस्किएको सेतो फोहोरको थुप्रो अहिले पर्यटक, चलचित्र निर्माता र सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि अनौठो आकर्षण बनेको छ।
फोहोर फाल्ने ठाउँ भए पनि यसको सेतो भू–दृश्य हिउँले ढाकिएको उपत्यकाजस्तो देखिने भएकाले यहाँ घुम्न आउनेको सङ्ख्या बढेको छ।
उत्तरपश्चिमी राज्य राजस्थानको प्रमुख सङ्गमरमर प्रशोधन केन्द्र किशनगढमा ८२ एकड अर्थात् ३३ हेक्टर क्षेत्रमा फैलिएको यो फोहोर व्यवस्थापन स्थलमा दैनिक पाँच हजार ५०० टनभन्दा बढी सङ्गमरमरको घोल र ढुङ्गा जम्मा हुने गरेको छ । यहाँ एक हजार २०० भन्दा बढी प्रशोधन एकाइबाट सङ्गमरमर तथा ग्रेनाइट काट्ने र पालिस गर्ने क्रममा निस्किएको फोहोर ल्याइन्छ । यो एसियाकै ठुलो फोहोर व्यवस्थापन क्षेत्रमध्ये एक हो ।
औद्योगिक फोहोरको यो क्षेत्र अहिले अप्रत्याशित पर्यटकीय गन्तव्यमा परिणत भएको छ । विवाहअघि खिचिने तस्बिरका लागि दम्पतीहरू सेता ढिस्काबीच पुग्ने गरेका छन् भने चलचित्र तथा सङ्गीत भिडियो निर्माणमा पनि यसलाई पृष्ठभूमिका रूपमा प्रयोग गरिन्छ । पर्यटकहरू असामान्य रूपमा फैलिएको सेतो भू–दृश्यमा घोडा चढ्ने गरेका छन्।
सामाजिक सञ्जालले यसको आकर्षण थप बढाएको छ। आगन्तुकहरूले यहाँको चम्किलो सेतो सतहलाई हिउँले ढाकिएको हिमाली वा अल्पाइन भू–दृश्यसँग तुलना गर्ने गरेका छन्। वर्षापछि फोहोरका ढिस्काबीचका होचा भागमा पानी जम्दा नीलो रङका पोखरी बन्ने भएकाले ठाउँको दृश्य अझ आकर्षक देखिन्छ।
तर पर्यटकको आकर्षण बनेको यो क्षेत्र गम्भीर वातावरणीय जोखिमको केन्द्र पनि हो। अधिकारीहरूले हावामा फैलिने धुलो तथा भूजल प्रदूषणको जोखिमबारे पटक–पटक चेतावनी दिएका छन्। विभिन्न अध्ययनमा आसपासका पानीमा लवणता, कठोरता तथा केही भारी धातुको मात्रा उच्च रहेको पाइएको छ।
भारतको सर्वोच्च वातावरणीय न्यायिक निकायले जनवरीमा अनियन्त्रित रूपमा फोहोर थुपार्ने क्रम रोक्दै सङ्गमरमरको घोल पुनःप्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले सुधारात्मक उपाय लागू गर्न आदेश दिएको थियो। न्यायाधिकरणले फोहोर व्यवस्थापन स्थलमा भूजल चुहावट रोक्ने संरचना, पानी छुट्याउने कुवा, धुलो नियन्त्रण प्रणाली, हावा तथा भूजल निगरानी र सुरक्षात्मक हरित क्षेत्रको अभाव रहेको जनाएको थियो।
वातावरणीय जोखिमका बाबजुद सेतो ढिस्का र वर्षापछि बन्ने नीलो पोखरीले किशनगढको यो औद्योगिक फोहोर क्षेत्रलाई सामाजिक सञ्जालमा चर्चित बनाएको छ। यसले फोहोर व्यवस्थापन र पर्यटन आकर्षणबिचको असामान्य सम्बन्धलाई समेत उजागर गरेको छ। रासस


