नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुँदै बग्ने नारायणी नदीमा आएको बाढी खतराको तह नजिक पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार शनिबार दिउँसो ३:०० बजे नदीमा पानीको सतह ८.९८ मिटर पुगेको छ।
देवघाट केन्द्रमा पानीको सतह ९ मिटर पुगेपछि खतराको तह मानिन्छ। नदीमा ७.३ मिटर पानीको सतह पुग्दै चेतावनीको तह नाघ्नेमा शुक्रबार राति नै उक्त तह पार गरिसकेको छ। जलमापन केन्द्रका अनुसार देवघाटमा पानीको सतह अझै निरन्तर बढ्दो क्रममा रहेको छ।
नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले जानकारी दिए। जोखिममा रहेका मानिसलाई सुरक्षित स्थानमा सार्ने र नदी किनारमा नजान माइकिङ गर्नेजस्ता कामहरू भइरहेको उनले बताए। प्रजिअ उपाध्यायका अनुसार गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिका नारायणी नदीको बाढीका कारण जोखिममा रहेका छन्। यस्तै बौदिकाली र बुलिङटार गाउँपालिका कालीगण्डकी नदीको बाढी तथा पहिराको जोखिममा रहेकाले प्रभावितहरूलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको र सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।
नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्माण गरिएको गण्डक ब्यारेजमा पानीको बहाव बढेपछि सबै ३६ वटा ढोका खुला गरिएको छ। इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक सुरेश पालले दिएको जानकारीअनुसार ब्यारेजमा पानीको सतह ३ लाख ४०० क्युसेक पुगेको छ। ब्यारेजमा ३ लाख क्युसेक पानी पुगेपछि चेतावनीको तह मानिन्छ।
गण्डक ब्यारेजमा पानीको सतह बढेपछि नेपाल र भारततर्फका दुवै नहरमा पानी पूर्ण रूपमा बन्द गरिएको छ। ब्यारेजको माथिल्लो पानीको सतह ३५९.२ फिट र तल्लो सतह ३५७.६ फिट पुगेको छ। ब्यारेजमा पानीको बहाव तीव्र बनेसँगै सुस्ताको केही जमिन डुबानमा परेको छ। डुबान क्षेत्रका प्रभावितहरूलाई सुरक्षित स्थानतर्फ लैजाने काम भइरहेको प्रहरीले जनाएको छ। रासस


