वरिष्ठ पत्रकार हरिशरण लामिछाने एनएलडिसी साहित्य–सञ्चार पदक पुरस्कारबाट सम्मानित

कोमल मल्ल –
काठमाडौँ, विगत तीन दशकदेखि रेडियो नेपालका वरिष्ठ समाचार वाचकका रूपमा कार्यरत रही नेपाली भाषा, साहित्य, सञ्चार र पत्रकारिता क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आउनुभएका वरिष्ठ पत्रकार तथा सर्जक हरिशरण लामिछाने एनएलडिसी नेपाली साहित्य–सञ्चार पदक पुरस्कारबाट सम्मानित हुनुभएको छ।

काठमाडौँको बालुवाटारस्थित परिषद् कक्षमा आयोजित सुशोभन समारोहमा वरिष्ठ साहित्यकार, कवि, सर्जक तथा पत्रकारहरूको उपस्थितिबीच नेपाली साहित्य विकास परिषद् यूके नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराई, परिषद्का प्रमुख सल्लाहकार वरिष्ठ कवि गोपाल पराजुली र परिषद्का संस्थापक वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले संयुक्त रूपमा वरिष्ठ पत्रकार तथा सर्जक हरिशरण लामिछानेलाई पुरस्कार पदक तथा प्रमाणपत्र प्रदान गर्नुभयो।

समारोहलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नुहुँदै नेपाली साहित्य विकास परिषद् यूकेका संस्थापक तथा निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले पुरस्कार र पुरस्कृत व्यक्तित्वबारे प्रकाश पार्नुभयो। उहाँले परिषद्का साहित्यिक गतिविधिहरूमा वरिष्ठ पत्रकार हरिशरण लामिछानेले महासचिव, सल्लाहकार तथा सर्जकका रूपमा मात्र नभई जनसमाजलाई सुसूचित गर्ने रेडियो नेपालको पत्रकारिता यात्रामार्फत नेपाली भाषा, साहित्य र सञ्चार क्षेत्रको समृद्धिमा निरन्तर सराहनीय योगदान पुर्‍याउँदै आउनुभएको उल्लेख गर्नुभयो।

बेलायतमा रेडियो पत्रकारिताको उच्च शिक्षा अध्ययनका क्रममा रहँदा पनि श्री लामिछानेले सन् १९९५ मै लन्डनमा एभरेष्ट नेपाली रेडियो स्थापना गरी नेपाली समाचार तथा साहित्यिक कार्यक्रमको प्रसारण प्रारम्भ गर्नुभएको स्मरण गर्दै संस्थापक शाहले नेपाली भाषा, साहित्य, कला र पत्रकारिताको क्षेत्रमा उदाहरणीय योगदान पुर्‍याउने विशिष्ट व्यक्तित्वहरूलाई प्रत्येक वर्ष नेपाली साहित्य विकास परिषद् यूकेद्वारा प्रदान गरिँदै आएको एनएलडिसी नेपाली साहित्य–सञ्चार पुरस्कार यस वर्ष बहुप्रतिभाशाली वरिष्ठ पत्रकार लामिछानेलाई प्रदान गर्न पाउँदा गौरव लागेको बताउनुभयो।

समारोहको सभापतिको आसनबाट सम्बोधन गर्नुहुँदै परिषद् नेपाल च्याप्टरकी अध्यक्ष वरिष्ठ साहित्यकार इल्या भट्टराईले रेडियो नेपालजस्तो देशको गौरवशाली सञ्चार संस्थामा रही नेपाली भाषा, साहित्य र समाचार सम्प्रेषणको क्षेत्रमा अनुकरणीय योगदान पुर्‍याउनुका साथै परिषद्मा समेत आबद्ध रहेर सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका वरिष्ठ पत्रकार हरिशरण लामिछानेलाई यस विशिष्ट पुरस्कारबाट सम्मानित गर्न पाउँदा गर्वको अनुभूति भएको बताउनुभयो।

यसैगरी परिषद्का प्रमुख सल्लाहकार तथा संयोजक वरिष्ठ कवि गोपाल पराजुलीले रेडियो नेपालको व्यस्त समयका बाबजुद पनि परिषद्को स्थापनाकालदेखि नै आबद्ध रहेर नेपाली भाषा साहित्यको श्रीवृद्धिमा वरिष्ठ पत्रकार तथा परिषद्का सल्लाहकार हरिशरण लामिछानेले अविच्छिन्न रूपमा पुर्‍याउनुभएको योगदान महत्त्वपूर्ण र गौरवपूर्ण रहेको बताउनुभयो। उहाँले परिषद्बाट यस्तो सम्मान प्रदान गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो।

पुरस्कार सम्मान ग्रहण गर्नुहुँदै वरिष्ठ पत्रकार तथा सर्जक हरिशरण लामिछानेले पुरस्कारबाट टाढै रहने आफ्नो स्वभाव भए पनि बेलायतमा रहेको नेपाली साहित्य विकास परिषद् यूकेसँग आफू त्यहाँ रेडियो पत्रकारिता अध्ययनका क्रममा रहँदादेखि नै विभिन्न गतिविधिमा निरन्तर संलग्न रहँदै आएको कारण यस पुरस्कारप्रति विशेष आत्मीयता रहेको बताउनुभयो।

उहाँले रेडियो नेपालको तीन दशक लामो पत्रकारिता अनुभव र परिषद्सँगको साहित्यिक यात्रालाई अब देश र समाजका लागि नयाँ ढङ्गले उपयोग गर्ने विचार व्यक्त गर्दै सम्मानका लागि आभार प्रकट गर्नुभयो।

बधाई मन्तव्य राख्नुहुँदै परिषद्का सल्लाहकार डा. नारायण चालिसेले नेपालको सञ्चार क्षेत्रमा गर्व गर्न लायक निर्भीक पत्रकारका रूपमा स्थापित वरिष्ठ पत्रकार हरिशरण लामिछानेले परिषद्को कार्यसमितिमा रहेर नेपाली भाषा साहित्यको समृद्धिका लागि गर्नुभएको योगदान प्रशंसनीय रहेको बताउनुभयो। उहाँले श्री लामिछाने अझ धेरै पुरस्कार र सम्मानका हकदार व्यक्तित्व भएको उल्लेख गर्दै परिषद्बाट उच्च मूल्याङ्कनसहित सम्मान गर्न पाउँदा खुसी लागेको बताउनुभयो।

कार्यक्रम सञ्चालन तथा स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का महासचिव वीरेन्द्र कुँवरले देशदेखि विदेशसम्म रहेका नेपाली समुदायमाझ रेडियो पत्रकारका रूपमा परिचित बौद्धिक व्यक्तित्व वरिष्ठ पत्रकार हरिशरण लामिछानेको बेलायतस्थित नेपाली समुदायसँग सञ्चार, कला र साहित्यका माध्यमबाट अझ घनिष्ठ सम्बन्ध रहेको बताउनुभयो। उहाँले एनएलडिसी साहित्य–सञ्चार पुरस्कारका लागि सही व्यक्तित्व छनोट भएको अनुभूति भएको उल्लेख गर्नुभयो।

समारोहमा धन्यवाद ज्ञापन मन्तव्य राख्नुहुँदै परिषद्का कोषाध्यक्ष राजेशजङ्ग शाहले यूकेस्थित परिषद्को केन्द्रीय संस्थाबाट पुरस्कृत हुनुभएका परिषद्का सल्लाहकार तथा पूर्व महासचिव वरिष्ठ पत्रकार हरिशरण लामिछानेले नेपाली भाषा, साहित्य र सञ्चार क्षेत्रमा प्रदान गर्नुभएको ऊर्जा सबैका लागि अनुकरणीय रहेको बताउनुभयो। उहाँले सम्मानित व्यक्तित्व, सहभागी तथा सहयोगी सबैलाई बधाई तथा धन्यवाद ज्ञापन गर्नुभयो।

सन् १९९५ मा स्थापना भएको बेलायतस्थित नेपाली जनसमुदायको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेमा स्थापना भएका विभिन्न १५ वटा पुरस्कारमध्ये वरिष्ठ साहित्यकार कोमलप्रसाद श्रेष्ठ मल्ल र कोहिनूर श्रेष्ठ मल्लले आफ्ना स्वर्गीय बाबुआमाको स्मृतिमा सन् २०११ मा एनएलडिसी नेपाली साहित्य–सञ्चार पदक पुरस्कार स्थापना गर्नुभएको हो।

पाँच तोला शुद्ध चाँदी र स्वर्ण अक्षर अङ्कित यस पदक पुरस्कार (नगद लिन चाहेमा नेपाली रुपैयाँ ५० हजार) परिषद्ले हरेक वर्ष नेपाली भाषा, साहित्य, कला र सञ्चार क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने सर्जक, सिर्जना, पत्रकार, कलाकार तथा समाजसेवीहरूलाई प्रदान गर्दै आएको छ।

यसअघि उक्त पुरस्कारबाट बीबीसी नेपाली सेवाका पूर्व प्रमुख सञ्चालक तथा परिषद्का पूर्व अध्यक्ष खगेन्द्र नेपाली, नेपाल पत्रकार महासंघ यूके शाखाका संस्थापक अध्यक्ष तथा प्रधान सम्पादक पत्रकार नवीन पोखरेल र भिजन संसार यूकेका सम्पादक अभिमन्यु वैराग सम्मानित भइसक्नुभएको छ।





Comments

comments

140336