मकवानपुर । अशोक वृक्षको छहारीमा सीता र त्रिजटाको मूर्ति । मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलाँसेमा राखिएका ती मूर्तिसहितको परिवेशले जो-कोहीलाई पनि त्रेतायुगको झल्को दिने गरेको छ।
डिभिजन वन कार्यालय राप्ती, मनहरीको आयोजना, भर्याङ कालिका सामुदायिक वनको व्यवस्थापन र राक्सिराङ गाउँपालिकाको समन्वयमा ती मूर्तिहरू निर्माण गरिएका हुन्।
विसं २०८० असार १८ गते बागमती प्रदेशका तत्कालीन प्रदेश प्रमुख यादवचन्द्र शर्माको उपस्थितिमा मूर्तिमा प्राण प्रतिष्ठा गरिएको थियो। जानकी मन्दिर जनकपुरधामबाट प्राप्त फूलमाला, पाती र प्रसादका साथै प्रसिद्ध दूधमतिबाट ल्याइएको जलले ती मूर्तिमा सेचन गरिएकाले यहाँको धार्मिक महिमा अझ बढेको छ।
यस क्षेत्रमा प्राकृतिक रूपमा नै उम्रिएका अशोकका रुखहरू छन्। परिसरलाई ‘सीता अशोक बाटिका’ का रूपमा विकास गर्ने सोच राखिएको डिभिजन वन कार्यालय राप्ती, मनहरीका प्रमुख हेमबहादुर थापाले जानकारी दिएका छन्। उनले भनेका छन्, ‘हामी यहाँका अशोकका वृक्षलाई संरक्षण गर्दै थप बिरुवासमेत रोप्ने योजना बनाएका छौँ। यस परिसरलाई व्यवस्थित गर्दै धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागिपरेका छौँ।’
सीता अशोक बाटिका नाम दिइएको यस स्थानमा राखिएको सीता र त्रिजटाको मूर्ति विश्वमै दुर्लभ रहेको विश्वास गरिन्छ। केही धर्मगुरुले भगवान्सँगै राक्षसको मूर्ति राख्न नहुने तर्क गरे पनि राक्षस पक्षधर भएर पनि सङ्कटमा सकारात्मक सहयोग गर्ने त्रिजटालाई भूमिकाका आधारमा भगवान्सरह नै मान्नुपर्ने तर्क स्थानीयवासीको छ। लङ्कामा सीताको रेखदेखका लागि राखिएकी त्रिजटाले सीतालाई हौसला प्रदान गर्दै हतोत्साही हुनबाट रोकेको किंवदन्ती छ। उक्त मूर्ति मकवानपुरगढी–७ सुकौराका हर्कबहादुर ब्लोनले साढे दुई महिना लगाएर बनाएका हुन्।
राक्सिराङ गाउँपालिका–३ का वडाध्यक्ष उत्तम वाइबाका अनुसार यस क्षेत्रलाई प्रकृति र संस्कृतिको अनुपम सङ्गमस्थलका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ। राक्सिराङमा रहेको जलपरी झरना, चमेरे गुफा, पलाँसेस्थित सीता अशोक बाटिका र भर्याङ कालिका मन्दिरलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्य बनाउने योजना छ। भर्याङ कालिकामा हरेक वर्ष मङ्सिर पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ। उक्त दिन करिब ३० हजारको सङ्ख्यामा दर्शनार्थीहरू सहभागी हुने गरेका छन्।
रावणले सीतालाई हरण गरेर अशोक बाटिकामा राखेको परिवेशलाई चित्रण गर्न सीता अशोक बाटिका परिसरमा रावणको दरबार बनाउने सोच राखिएको छ। वडाध्यक्ष वाइबाका अनुसार परिसरमा अशोक बाटिकासँगै पारि पचभैयामा विशाल हनुमानको मूर्तिसहित रामको दरबार बनाउने योजना छ। त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयारी गरिएको छ। सो योजना सम्पन्न गर्न करिब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको छ।
वडाध्यक्ष वाइबाले भनेका छन्, ‘हामी यस क्षेत्रलाई बागमती प्रदेशमा आएका पर्यटकले न्यूनतम एक दिन बिताउन सक्ने गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्छ भन्ने सोचमा छौँ। स्थानीय तहसँगै प्रदेश र सङ्घीय सरकारबाट सहयोग पाउने विश्वासमा छौँ।’
सञ्चारकर्मी रामकुमार एलनले सीता अशोक बाटिका, जलपरी झरनाका साथै चेपाङ सङ्ग्रहालयलगायत गन्तव्यलाई समेटेर महत्त्वपूर्ण पर्यटकीय क्षेत्र बनाउन सकिने बताएका छन्। उनले भनेका छन्, ‘सबैको एकताबद्ध प्रयास भएमा यो क्षेत्र प्रकृति, संस्कृतिसँगै धार्मिक पर्यटनको विशिष्ट गन्तव्य बन्न सक्छ। आवश्यक पूर्वाधार विकास गर्न सकिएमा आन्तरिक पर्यटकका अलावा भारतबाट हेटौँडा आउने पर्यटकलाई न्यूनतम एक दिन घुम्नैपर्ने गन्तव्यका रूपमा यस क्षेत्रलाई स्थापित गर्न सकिन्छ।’ रासस


