मुक्तिनाथमा एकै दिन आठ हेलिकप्टर उडान

फाइल फोटो

मुस्ताङ । मुस्ताङको मुक्तिनाथमा एकै दिन आठ वटा हेलिकप्टरले उडान गरेका छन्। जोमसोम नागरिक उड्डयन कार्यालयका अनुसार आज विभिन्न हेलिकप्टर कम्पनीले काठमाडौँ–मुक्तिनाथ र मुक्तिनाथ–काठमाडौँ दुईतर्फी उडान गरेका हुन्।

जोमसोम विमानस्थल प्रमुख दीपक पोखरेलका अनुसार आज काठमाडौँ–मुक्तिनाथ दुईतर्फी हेलिकप्टर उडान भएका छन् । ती उडानबाट ३२ भारतीय दर्शनार्थीले हेलिकप्टर सेवा लिएका छन् । उनका अनुसार वर्षायाममा यति धेरै सङ्ख्यामा हेलिकप्टर उडान भएको पहिलो पटक हो।

विमानस्थल प्रमुख पोखरेलका अनुसार काठमाडौँबाट सिधै मुक्तिनाथ र मुक्तिनाथबाट काठमाडौँ विभिन्न पाँच निजी हेलिकप्टर कम्पनीले उडान गरेका छन्। एयर डाइनेस्टिक, अल्टिच्युड एयर, एभरेस्ट हेली, अन्नपूर्ण एयर र मिम्रिक एयरले उडान गरेका हुन्।

यसैगरी, दुई महिनादेखि रोकिएको पोखरा–जोमसोम हवाई सेवा पनि आजदेखि पुनःसञ्चालनमा आएको छ। पोखरा–जोमसोम नियमित हवाई सेवाका लागि समिट एयरलाइन्सले तीन वटा उडान गरेको हो।

समिट एयरको जोमसोम स्टेसन इन्चार्ज सुमन थकालीका अनुसार जेठ २ गतेदेखि बन्द रहेको हवाई सेवा सोमबारदेखि पुनःसुरु भएको हो।

पहिलो दिन समिट एयरको जहाजले ४८ भारतीय यात्रुलाई सेवा दिएको उहाँले जानकारी दिनुभयो । तारा एयरलाइन्सले भने अझै उडान सुरु गरेको छैन। रासस





Comments

comments

140483