भोटेकोशी बाढी विपत्ति: ब्रिटिश गोर्खाद्वारा गम्भीर दुःख व्यक्त, उद्धार र राहतका लागि अपिल

एचकेनेपाल डट कम – लन्डन/काठमाडौँ। गत अगस्ट २६, २०२६ का दिन नेपालको सिन्धुपाल्चोकस्थित भोटेकोशी नदी क्षेत्रमा आएको आकस्मिक र विनाशकारी बाढीले पुर्‍याएको ठूलो जनधनको क्षतिप्रति ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति (BGNCCC – UK/Nepal) ले गम्भीर दुःख तथा स्तब्धता व्यक्त गरेको छ।

प्रमुख संयोजक तथा सम्पूर्ण कार्यसमितिको तर्फबाट सन्तोष थलङद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “यस अकल्पनीय र सोच्नै नसकिने प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुभएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, बाढीका कारण घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बेपत्ता हुनुभएकाहरूको तीव्र खोजी तथा प्रभावितहरूको सुरक्षित उद्धार र राहतका लागि सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछौँ।”

विज्ञप्तिमा अगाडि भनिएको छ, “हामी भौतिक रूपमा प्रवास (बेलायत) मा रहे तापनि हाम्रो मन, भावना र संवेदना सधैँ मातृभूमि नेपाल र हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूसँगै छ। देशमा पर्ने हरेक संकट र विपत्तिमा भूपू गोर्खा तथा प्रवासमा रहेका सम्पूर्ण नेपालीहरू ऐक्यबद्ध छौँ र यो कठिन घडीमा पीडितहरूका साथमा उभिन प्रतिबद्ध छौँ।”

विपत्तिको यस दुखद परिस्थितिमा सम्पूर्ण स्थानीय नागरिक, उद्धारकर्ता, सुरक्षा निकाय र सरकारलाई धैर्यताका साथ उद्धार तथा राहत कार्यमा जुट्न जारी प्रेस विज्ञप्ति मार्फत हार्दिक आह्वान गरिएको छ।

समितिले शोकसन्तप्त परिवारमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।

जय मातृभूमि नेपाल!

सन्तोष थलङ
प्रमुख संयोजक तथा सम्पूर्ण कार्यसमिति
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरता अभियान समिति – यूके/नेपाल (British Gurkha Nepali Citizenship Continuation Campaign Committee – BGNCCC – UK/Nepal)





Comments

comments

140598