एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री

–

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

एसिया सोसाइटीद्वारा न्युयोर्कमा आज आयोजित ‘स्टिरिङ नेपाल्स फ्युचर इन एसियाज राइजिङ सेन्चुरी’ अर्थात् ‘एसियाको उदाउँदो शताब्दीमा नेपालको भविष्यको मार्गदर्शन’ विषयक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालले भौगोलिक चुनौतीलाई राष्ट्रिय आकांक्षाको सीमाका रूपमा लिन नहुने बताए।

नेपाललाई परम्परागत रूपमा ‘सानो मुलुक’ का रूपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्नेमा जोड दिँदै उनले नेपाल रणनीतिक रूपमा महत्वपूर्ण स्थानमा रहेको बताउनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ।

“नेपाल सानो होइन। नेपाल रणनीतिक रूपमा सही स्थानमा छ,”मन्त्री खनालले भने, “हाम्रा छिमेकीको आकार भूगोलको यथार्थ हो, तर त्यो हाम्रो महत्त्वाकांक्षाको सीमा कहिल्यै बन्नु हुँदैन।” उनले नेपालको भूगोल र जनसङ्ख्यालाई अन्य मुलुकसँग तुलना गर्दै नेपाललाई सानो मुलुकका रूपमा मात्र बुझ्न नहुने धारणा राखे।

हालैको बाढीको प्रसङ्ग उल्लेख गर्दै मन्त्री खनालले त्यसलाई ‘हिमालयन सुनामी’ को संज्ञा दिए। “नेपालले लामो समयदेखि प्राकृतिक विपत्ति, कठिन भूगोल र संरचनात्मक चुनौती सामना गर्दै आएको छ,’”उनले भने।

परराष्ट्रमन्त्री खनालले पछिल्लो विपत्तिले जलवायु परिवर्तनलाई नेपालको परराष्ट्र नीतिको रणनीतिक प्राथमिकताका रूपमा लिनुपर्ने स्पष्ट सन्देश दिएको बताए। उनले प्रभावकारी पूर्वसूचना प्रणाली, जलसम्बन्धी तथ्याङ्क आदानप्रदान, पूर्वानुमानयोग्य अनुदानमा आधारित जलवायु वित्त तथा छिमेकी र अन्तरराष्ट्रिय समुदायसँग व्यावहारिक सहकार्यलाई प्राथमिकता दिनुपर्ने उल्लेख गरे।

एसियाको उदयलाई नेपालका लागि महत्वपूर्ण अवसरका रूपमा व्याख्या गर्दै उनले विश्वको करिब ६० प्रतिशत जनसङ्ख्या एसियामा रहेको र विश्व अर्थतन्त्रमा एसियाको ठूलो योगदान रहेको बताए। मन्त्री खनालले काठमाडौंलाई एसियाको आर्थिक तथा सामाजिक रूपान्तरणको महत्वपूर्ण केन्द्रका रूपमा विकास गर्न सकिने बताए। “हाम्रो प्रश्न अब दुई ठूला छिमेकीबीच नेपाल कसरी बाँच्ने भन्ने होइन। हाम्रो प्रश्न हो–नेपालले उनीहरूबीच र उनीहरूभन्दा बाहिर कसरी मूल्य सिर्जना गर्ने?” उनले भने।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी तथा अरनिको र भृकुटीजस्ता राष्ट्रिय विभूतिले नेपाललाई एसियाली सभ्यता र संस्कृतिको महत्वपूर्ण सम्पर्कस्थल बनाएको उनको भनाइ थियो। “हाम्रा पुर्खाले एउटा स्पष्ट सत्य बुझेका थिए–सम्पर्कले समृद्धि सिर्जना गर्छ, अलगावले गरिबी बढाउँछ,” मन्त्री खनालले भने।

नेपालको जलविद्युत् उत्पादन क्षमतालाई क्षेत्रीय आर्थिक रूपान्तरणसँग जोड्न सकिने उल्लेख गर्दै उनले स्वच्छ विद्युत् भारत हुँदै बङ्गलादेशसम्म निर्यात भइरहेको बताए। सीमावर्ती विशेष आर्थिक क्षेत्रमा उत्पादन विस्तार गरी विश्वव्यापी आपूर्ति शृङ्खलालाई नेपालसँग जोड्न सकिने पनि उनले बताए।

उत्तर छिमेकी चीनसँग नेपालको सहकार्यलाई व्यावहारिक, व्यावसायिक र दीर्घकालीन आधारमा अघि बढाउनुपर्ने बताउँदै मन्त्री खनालले सडक, सुरुङ, सुख्खा बन्दरगाह, हवाई सेवा, डिजिटल सम्पर्क र सीमापार रेलसहितको बहुआयामिक ट्रान्स–हिमालयन कनेक्टिभिटी विकास गर्नुपर्नेमा जोड दिए।

नेपालको भविष्य नेपाली जनताले निर्धारण गर्नुपर्ने भए पनि त्यसका लागि अन्तरराष्ट्रिय साझेदारीमा जोड दिँदै मन्त्री खनालले अमेरिका, युरोप, आसियान, ल्याटिन अमेरिका तथा अन्य साझेदारलाई नेपालमा लगानी, सहकार्य र साझेदारीका लागि स्वागत गरे। रासस





Comments

comments

141024