बेलायतमा गोर्खा रेजिमेन्टतिर तीजको रमझम

रोशन मेवाहाङ / एचकेनेपाल डट कम –
लण्डन, १९ भाद्र । केन्ट, फोक्स्टनस्थित दोश्रो गोर्खा रेजिमेन्टको मन्दिरमा नेपाली हिन्दू महिलाहरुले तीज पर्व मनाएका छन् । आफ्ना श्रीमानको लामो आयु तथा सुस्वास्थ्यको कामना र अविवाहित नारीहरुले आफूले भने जस्तो बर पाइयोस् भनेर शिवको पूजा अचर्ना गरे।

अघिल्लो दिन डोबर कम्युनिटी हलमा तीजलाई स्वागत गदै नेपाली नारीहरुले तीजको रौनक बढाएका थिए । पाँचौ दिनसम्म रमझम गरिने तिज पर्व आजकल फेसनको रूपमा पनि बढ्दै गएको देखिन्छ । आफनो श्रीमानको लागि दिनभरि पानी पनि नखाई निर्जल वा निराहार बस्ने व्रत भएकाले एक दिनअघि नाँच गान रमाइलो गरी दरका रूपमा मीठामीठा परिकार खाने चलन चलिआएको पाईन्छ । दर खान विशेषगरी माइतीले छोरीचेलीलाई बोलाउने र विवाहित महिलाले आफ्नो अटल सौभाग्यका लागि छोरीचेलीलाई चुरापोते प्रदान गर्नेजस्ता चलन पनि यस पर्वमा पाइन्छ।

विभिन्न टेलिभिजन च्यानल र रेडियोहरुले तीको दिन विभिन्न ठाँउहरुमा अनेक कार्यक्रमहरु गरी आयोजना हुने तीजको विशेष कार्यक्रमको प्रत्यक्ष प्रसारण संसारभर चर्चित विएफविएस गोर्खा रेडियोकी प्रस्तोता आशा पुनले कार्यक्रम ढाकी रहेकी थिईन् । कार्यक्रममा उपस्थित सम्पूर्ण दिदीबहिनीलाई दोश्रो गोर्खा रेजिमेन्टका गोर्खा मेजरकी श्रीमती कुमारी लिम्बुले तीजको शुभकामना दिएकी थिईन् ।

पौराणिक कथा
हिन्दु पौराणिक कथा अनुसार पर्वत राजा देवताकी छोरी परी पार्वतीको विहेको लागि बुबा पर्वत राजाले देवता विष्णुसँग विहे गरिदिने निधो गरे । जुन पार्वतीको इच्छाविपरीत थियो । उनीलाई मन परेको थिएन। यसको कारण पार्वतीले महादेव शंकरलाई पति बनाउने ठूलो इच्छा रहेछ । यसर्थ पार्वती विष्णुसँग विहे गर्नुभन्दा आत्महत्या गर्न तयार भइन् । पार्वतीलाई साथीहरुले बचाउनका लागि एक गोप्य ठाँउमा लगेर लुकाए।

बुबा पर्वतराज भने विवाहको बर्बादी र छोरी हराएको पीडाले शोकमग्न हुँदा जंगलजंगल डुले । पार्वती भने त्यही बनमा गोप्य रुपमा साथीहरुसँग बसेर भाद्र शुल्क तृतीयाका दिन व्रत उपवास गरी आफनो कामनाको अभीष्ट पूरा गरिन् किनकि बुवाले महादेव शंकरसँग विहे गरेर छोरीको इच्छा पूरा गरिदिए।

यसरी पार्वती ( परी )ले भाद्र शुल्क तृतीयको दिन व्रत बसी लक्ष्य पूरा गरेको उपलक्ष्यमा खुशियालीका साथ भजन, कीर्तन र गीतसंगीतपूर्ण मनोरन्जन गरिएको थियो। यही परम्परा हिन्दू समाजमा कायम रहँदै आएको छ । इतिहासदेखि वर्तमानसम्म आइपुग्दा यसको रुपमा भने निकै काँचुली फेरिएको देखिन्छ।


बुद्धिजीवी शंकरमणि नेपाल

व्रत उपवासको सकारात्मक पक्षलाई दुई ढंगले लिन सकिने बुद्धिजीवी शंकरमणि नेपाल बताउँछन् । पहिलो वैज्ञानिक पक्षमा मान्छे शारीरिक र मानसिक रुपमा स्वस्थ वा रोगमुक्त हुन सहयोग पुग्ने र बेलाबेलामा उपवास बस्नु शरीरको स्वास्थ्यमा राम्रो सुधार हुने र मानसिक स्वच्छता प्रदान हुनेमा विश्वास दिलाउँछन् । मनोवैज्ञानिक रुपमा पर्ने प्रभावमा ध्यानपूर्वक परिश्रम गरेर धैर्यधारण गरी लगनशील भएमा खोजेको कुरा प्राप्त गर्न सकिने बताउँछन् । उनले भने, मानव जातिले गर्ने जुनसुकै काममा पनि यस्तो तपस्या, त्याग र योगदानको खाँचो छ । त्यो पूरा भएमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने मार्गनिर्देशनको रुपमा लिन सकिने सल्ला दिन्छन् ।

ममता गुरुङ / गीता राई
विदेशी भूमिमा रहेपनि तीज वर्षमा धूमधामका साथ मनाइन्छ । नेपाली समाजमा गरिब, धनी, सबैले मान्ने चलनअनुसार टाढाटाढा विवाह गरेर दिएको चेलीबेटीहरु जसरी पनि माइत ल्याउने र जाने गरिन्छ । जसले घरमाइतको सम्बन्धलाई पुन सम्बन्ध झन् प्रगाढ बनाउँछ । मनमा लागेका धुलोमैलो तथा मनमुटावलाई समेत पखाल्ने काम गर्छ । दुवै पक्षका नातागोताबीच विच्छेदित हुँदै गएको सम्बन्ध तीज भेटघाटले पुनर्जीवित गर्छ ।

कार्यक्रममा गायिकका सुनिता थेबे, ईन्टेक ९९ का ममता गुरुङ, गीता राई, गोर्खा रेजिमेन्टका अघुवा महिला कुमारी सुब्बा, बुद्धिजीवी शंकरमणि नेपाल, विएफविएसका प्रस्तोता शिरिष सुनुवार र आशा पुनलगायत उपस्थित थिए।

तस्वीरहरुः रोशन मेवाहाङ / एचकेनेपाल डट कम

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

14128