रोशन मेवाहाङ / एचकेनेपाल डट कम
लण्डन। नेपालीहरूको महान् पर्व बडादशैंको उल्लास र सांस्कृतिक रौनक बेलायतको लेस्टरस्थित कोलभिलमा पनि छाएको छ।
कोलभिल नेपाली समाज (सीएनसी) ले नेपाली कला, संस्कृति, संस्कार र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको दशैं–तिहार शुभकामना साँझ भव्यताका साथ सम्पन्न भएको छ।
समाजका सदस्य, परिवार तथा शुभचिन्तकहरूको उत्साहजनक सहभागितामा सम्पन्न कार्यक्रममा शुभकामना आदानप्रदानसँगै नेपाली लोकसङ्गीत, नृत्य र विविध सांस्कृतिक प्रस्तुतिले वातावरणलाई नेपालमय बनाएको थियो। प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान, सांस्कृतिक परम्परा र आपसी आत्मीयतालाई जीवन्त राख्ने उद्देश्यले आयोजित कार्यक्रमले नेपाली समुदायबीच एकता र सद्भावको सन्देश दिएको थियो।
कार्यक्रममा बोल्दै सीएनसीका अध्यक्ष चम्पा थापा मगरले प्रवासमा दशैं–तिहार मनाउनु चाडपर्वको उत्सवमा मात्र सीमित नरही जन्मभूमि, परिवार र पुर्ख्यौली संस्कृतिसँगको आत्मीय सम्बन्धलाई जीवन्त राख्ने अवसर भएको बताएका थिए।
पहिलो गोर्खा बटालियनबाट अवकाश भएका इन्टेक ९८ का बल ठेन्डि मगर भन्छन्, “सानो छँदा घरपरिवार र आफन्तजनसँग गाउँघरमा मनाएको बडादशैं र तिहारका सम्झनाहरू आज पनि मनमा ताजै छन्। सानै उमेरमा बेलायती गोर्खा बटालियनमा भर्ती भएर बेलायत आउँदा मातृभूमिबाट टाढिनुपरे पनि आफ्नो गाउँघर, परिवार र संस्कृतिप्रतिको माया कहिल्यै टाढिएन। दशैं–तिहार आउँदा बाल्यकालका ती रमाइला सम्झनाका क्षणहरू झलझली यी आँखाहरूमा आउँछन्।”
उनले विदेशमा रहे पनि आफ्नो भाषा, संस्कृति र परम्परालाई बिर्सन नहुनेमा जोड दिँदै यस्ता कार्यक्रमले नेपालीहरूबीच आत्मीयता, सद्भाव र एकतालाई अझ बलियो बनाउने बताए। साथै, नयाँ पुस्तालाई आफ्नो मौलिक पहिचान र सांस्कृतिक विरासतसँग जोडिराख्न पनि यस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
बेलायती गोर्खा बटालियनमा सेवा गरी अवकाश लिएका इन्टेक १९९९ का चुडाक थापा मगर हाल आफ्नो धर्मपत्नी र दुई छोरासँग कोलभिलमा बसोबास गर्दै आएका छन्। उनका लागि दशैं धार्मिक तथा सांस्कृतिक पर्व मात्र नभई सैनिक जीवनका अविस्मरणीय क्षण र मातृभूमिसँग जोडिएका भावनाहरू स्मरण गर्ने विशेष अवसर पनि हो।
गोर्खा सैनिक जीवनका दिन सम्झँदै उनले पल्टनमा रहँदा नवमीको दिन कालरात्रिमा दशैं मनाएका क्षणहरू अझै स्मरणमा ताजै रहेको बताए। परिवार र गाउँघरबाट टाढा रहे पनि सैनिक साथीहरूसँग एकै ठाउँमा भेला भएर चाडपर्व मनाउँदाको उमङ्ग र आत्मीयता बेग्लै हुने उनको अनुभव छ। उनका अनुसार, ती सम्झनाले आज पनि दशैंको महत्त्व र आफ्नोपनलाई अझ गहिरो बनाउँछन्।
दिउँसो ३ बजेदेखि सुरु भएको कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका सविता परियारको साङ्गीतिक प्रस्तुतिले विशेष रौनक थपेको थियो। गायिका परियार र सीएनसीका जामलाल पुन र कृष्ण राईबीच प्रस्तुत भएको मायालु भाकाको दोहोरीले केहीबेर कार्यक्रमस्थल गुञ्जायमान बनेको थियो। दर्शकहरूले गीत, सङ्गीत र दोहोरीको भरपूर मनोरञ्जन लिएका थिए।
त्यसैगरी, स्थानीय कलाकार अस्मिता थापा मगर र नवीन मगरको युगल नृत्य तथा रोयल्सन राई र रमिरोज राईका प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। नेपाली गीत–सङ्गीत र नृत्यका विविध प्रस्तुतिले सहभागीहरूलाई मनोरञ्जन प्रदान गर्नुका साथै नेपाली सांस्कृतिक परम्पराको झल्को दिएको कार्यक्रमका तस्बिरहरू फोटो पत्रकार सिमोन चौधरीले कैद गरेका हुन्। कुनै पनि कार्यक्रममा फोटो तथा भिडियो कैद गर्न परेमा फोटो पत्रकार सिमोनको फोन नम्बर ०७८२४१८६६७७ मा सम्पर्क गर्न अनुरोध गरेका छन्।
नेपालको तनहुँमा जन्मिएकी गायिका सविता परियार नेपाली लोकसङ्गीत क्षेत्रमा परिचित नाम हुन्। विभिन्न लोकभाका र लोकप्रिय गीतमार्फत दर्शक–श्रोताको मन जित्न सफल उनले हालसम्म दुई सयभन्दा बढी गीतमा स्वर दिइसकेकी छन्। उनले विभिन्न राष्ट्रिय सम्मान तथा पुरस्कार प्राप्त गर्नुका साथै साङ्गीतिक रियालिटी शोहरूमा निर्णायकको भूमिका समेत निर्वाह गरिसकेकी छन्। उनको गीत “गावै रमाइलो दशै रमाइलो” ११ लाख भन्दा बढीले मन पराएका थिए। उनले गावै रमाइलो दशै रमाइलो भाग-५ र कौडा भाकाको गीत छिट्टै सार्वजनिक हुने जानकारी दिइन्।
कार्यक्रमका अवसरमा यसै वर्ष प्लाइमाउथ विश्वविद्यालयबाट दीक्षान्त भएकी सजिता राई, आर्ट्स युनिभर्सिटी बोर्नमाउथबाट दीक्षान्त भएकी सुजानी राई तथा डर्बी विश्वविद्यालयबाट दीक्षान्त दोस्रो गोर्खा बटालियनबाट अवकाश भएका विनोद राई र प्रवेशिका परीक्षामा दोस्रो श्रेणीमा उत्तीर्ण जेनिश थापा मगरलाई अध्यक्ष थापा मगरले खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरेका थिए। उनीहरूको शैक्षिक उपलब्धिको प्रशंसा गर्दै उनले आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न र समाज तथा राष्ट्रको सेवामा महत्त्वपूर्ण योगदान पुर्याउन शुभकामना दिए।
संस्थाका महासचिव नवराज राना मगरले समाजको स्थापनाकालदेखि नै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जानकारी दिए। उनले दशैं–तिहार शुभकामना साँझ समाजका सदस्य, परिवार र शुभचिन्तकहरूको सहयोग, सद्भाव र सक्रिय सहभागिताका कारण सफल भएको बताए।
“हामी विदेशमा बसे पनि आफ्नो मौलिक संस्कृति र परम्परालाई जीवन्त राख्नु हाम्रो दायित्व हो। हाम्रा बालबालिकाले नेपाली चाडपर्वको महत्त्व बुझून्, आफ्नो भाषा र संस्कृतिप्रति गर्व गर्न सकून् र नेपाली पहिचानलाई आत्मसात् गर्दै अघि बढून् भन्ने हाम्रो चाहना हो। समाजका सदस्यहरूबीच आपसी सहयोग, सद्भाव र एकता अभिवृद्धि गर्नु पनि यस्ता कार्यक्रमको महत्त्वपूर्ण उद्देश्य हो,” महासचिव राना मगरले भने।
उनले सीएनसीले नेपाली चाडपर्वका अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको उल्लेख गर्दै यस्ता गतिविधिले समाजमा आबद्ध परिवारलाई आफ्नो संस्कृति जोगाइराख्न र भावी पुस्तालाई नेपाली परम्परासँग परिचित गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
उक्त कार्यक्रमलाई महासचिव नवराज राना मगर र सम्राट राईले संयुक्त रूपमा सञ्चालन गरेका थिए भने मनोरञ्जन व्यवस्थापनको जिम्मेवारी डेभिड राई र विजय राईले सम्हालेका थिए।
नेपाली कला, संस्कृति र परम्परालाई भावी पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यसहित आयोजित दशैं–तिहार शुभकामना साँझले कोलभिलमा बसोबास गर्ने नेपालीहरूबीच आत्मीयता, सद्भाव र एकताको भावना थप सुदृढ बनाएको छ। विदेशको व्यस्त जीवनशैलीका बीच पनि मातृभूमिको सम्झना, सांस्कृतिक पहिचान र सामूहिक एकतालाई जीवन्त राख्दै सीएनसीले नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्ने प्रयासलाई निरन्तरता दिएको छ।
फोटो: सिमोन चौधरी


