सिन्धुलीमा टाटा सुमो सुनकोशी नदीमा खस्यो: ३ जनाको मृत्यु, ३ बेपत्ता, ४ घाइते

–

एचकेनेपाल डट कम –
सिन्धुली, काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ जाँदै गरेको एक यात्रुवाहक टाटा सुमो सिन्धुलीमा दुर्घटना भएको छ। फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा गुडिरहेको सुमो अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खस्दा तीन जना महिलाको घटनास्थलमै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटनामा परी अन्य तीन जना यात्रु नदीमा बेपत्ता भएका छन् भने चालकसहित चार जना घाइते भएका छन्। दुर्घटनामा परेको सुमोको नम्बर को १ ज २९७६ रहेको खुलेको छ।

सशस्त्र प्रहरी बलका अनुसार दुर्घटना आइतबार बिहान २:४० बजेको समयमा भएको हो। घटना लगतै स्थानीय बासिन्दा र सुरक्षा निकायको टोली उद्धारमा खटिएका थिए। उद्धार टोलीले चार जना घाइतेलाई जीवितै उद्धार गरी उपचारका लागि उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर पठाएको थियो। घाइतेहरूलाई प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल सिन्धुली रिफर गरिएको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा ओखलढुंगाका २९ वर्षीय चालक आशिष विष्ट (विक), खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, सोही ठाउँकी १२ वर्षीया शिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। घाइतेमध्ये चालक र सम्झना राईको अवस्था गम्भीर रहेको जनाइएको छ।

नदी किनारमा फेला परेका मृतक तीनै जना महिलाको शव पहिचान खुलाउने प्रयास भइरहेको छ। शवहरूलाई पोष्टमार्टमका लागि गोलन्जोर अस्पताल पठाइएको छ।

नदीमा बेपत्ता भएका अन्य तीन जना यात्रुहरूको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ। तीव्र गतिका कारण सुमो अनियन्त्रित भई नदीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।





Comments

comments

141569