काठमाडाैँ। मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने ऐतिहासिक अभियान सञ्चालन गर्न जापानले तयारी गरेको छ।
यसले मङ्गल ग्रह र यसका चन्द्रमाको उत्पत्ति, सौर्यमण्डलको निर्माण तथा पृथ्वीमा जीवनको सुरुआतबारे महत्त्वपूर्ण जानकारी दिने वैज्ञानिकहरूको अपेक्षा छ।
जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सी (जाक्सा) का अनुसार एमएमएक्स अन्तरिक्षयान बोकेको एच–३ रकेट मङ्गलबार बिहान ४ः४१ बजे तानेगासिमा अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गर्ने तयारी छ । अन्तरिक्षयान एक वर्षपछि मङ्गल ग्रहको नजिक पुग्नेछ र फोबोसको तीन वर्षसम्म परिक्रमा गर्दै त्यहाँबाट कम्तीमा १० ग्राम नमूना सङ्कलन गर्नेछ । फ्रान्सेली हास्य पात्र एस्टेरिक्सको कुकुरको नामबाट ‘इडिफिक्स’ नाम दिइएको रोभरले अवतरणका लागि उपयुक्त स्थान पहिचान गर्न सतहको अवलोकन गर्नेछ।
एमएमएक्सका परियोजना प्रबन्धक यासुहिरो कावाकात्सुका अनुसार यो मङ्गल ग्रह प्रणालीबाट नमूना सङ्कलन गरी पृथ्वी फर्किने विश्वकै पहिलो अभियान हुनेछ। यसले भविष्यमा मङ्गल ग्रहमा मानव अन्वेषणका लागि आवश्यक प्रविधि विकास गर्नसमेत सहयोग पुर्याउनेछ । अन्तरिक्षयानले मङ्गल ग्रहको अर्को चन्द्रमा डिमोसको पनि अवलोकन गर्नेछ।
वैज्ञानिकहरूले फोबोस र डिमोस मङ्गल ग्रहसँग अर्को खगोलीय पिण्ड ठोक्किएर बनेका हुन् वा मङ्गल ग्रहको गुरुत्वाकर्षणले क्षुद्रग्रहलाई आफ्नो कक्षमा तानेर बनेका हुन् भन्ने पत्ता लगाउने आशा गरेका छन् । यसबाट चट्टानी ग्रहमा जीवन अनुकूल वातावरण कसरी विकास भयो भन्ने बुझ्न मद्दत पुग्न सक्छ। अभियानमा सहभागी फ्रान्सेली खगोलशास्त्री प्याट्रिक मिशेलका अनुसार चन्द्रमाका नमूनाले पानी तथा जैविक पदार्थ सौर्यमण्डलका ग्रहसम्म कसरी पुगे भन्ने सङ्केत दिन सक्छन्।
फ्रान्स, जर्मनी, अमेरिका र युरोपका अन्तरिक्ष निकायसहित करिब २० विश्वविद्यालय तथा प्रविधि कम्पनी यस अभियानमा सहभागी छन्। जापानले यसअघि सन् २०२० मा हायाबुसा–२ मार्फत क्षुद्रग्रहबाट ५.४ ग्राम चट्टान र धुलो पृथ्वीमा ल्याएको थियो । तर, मङ्गल ग्रहको बलियो गुरुत्वाकर्षणबाट बाहिर निस्केर फर्कनुपर्ने भएकाले यो अभियान थप चुनौतीपूर्ण छ।
यसैबिच चीनले सन् २०२८ तिर तियानवेन–३ अभियान प्रक्षेपण गरी सन् २०३१ सम्ममा मङ्गल ग्रहको सतहबाट नमूना पृथ्वीमा ल्याउने लक्ष्य राखेको छ। जापानी वैज्ञानिकहरूका अनुसार फोबोसका चट्टान र बालुवाले मङ्गल ग्रहको सतहबाट प्राप्त नमूनाभन्दा फरक जानकारी दिन सक्छन्।


