एचकेनेपाल डट कम –
मेडवे, केन्ट। नेपालीहरूको महान् चाड बडा दशैंको पावन अवसरमा गोर्खा नेपाली समाज मेडवे (GNCM) ले शनिबार, १७ अक्टोबर २०२६ का दिन ‘दशैं उत्सव २०२६’ भव्य रूपमा सम्पन्न गरेको छ।
केन्टको जिलिङ्घाम स्थित ब्रम्पटन वेस्टब्रुक प्राइमरी स्कूलको सभाहलमा आयोजित उक्त कार्यक्रममा सहभागी समुदायका अगुवा तथा स्थानीय बेलायती प्रतिनिधिहरूले नेपालको भोटेकोशी र बुढीगण्डकी क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका पीडितहरूप्रति गहिरो दुःख व्यक्त गर्दै ऐक्यबद्धता जनाएका छन्।
सन् २००८ मा स्थापित यस GNCM – (Gurkha Nepalese Community Medway) संस्थाले बेलायतको केन्ट मेडवेमा बसोबास गर्ने नेपालीहरूबीच भाइचारा, सांस्कृतिक जगेर्ना र आपसी एकता सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष विविध कार्यक्रम सहित दशैं र तिहारको अवसरमा सामूहिक कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्षको दशैं कार्यक्रम साँझ ४:३० बजे सुरु भई राति ११:०० बजेसम्म सांस्कृतिक र सांगीतिक प्रस्तुतिका साथ सम्पन्न भएको थियो।
समारोह महा-सचिव रोशन राईले सुरक्षा सम्बन्धी जानकारी गराउनु हुँदै सुरु भएको थियो। केही परेको खण्डमा सुरक्षा तथा आकस्मिक व्यवस्थापनमा (NHS नर्स) प्राथमिक उपचारमा दुर्गा राई सहित कुमार गुरुङ र उत्तर पतङ्वा खटिनु भएको थियो।
साउन्ड अपरेटर भूमिराज राईले नेपाल र बेलायतको राष्ट्रिय गान बजाएपछि प्रमुख अतिथि डेपुटी मेयर काउन्सिलर शेरोन ज्याक्सन र कार्यवाहक अध्यक्ष इन्डीसेन राई सहित कार्यक्रममा उपस्थित ज्येष्ठ नागरिक जगबीर थापा मगरले संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।
सह-कोषाध्यक्ष पुष्पा राईले स्वागत मन्तव्य राख्दै दशैंको महत्वमाथि प्रकाश पार्नुभएको थियो। उहाँले दशैं केवल खानपिन र रमाइलोमा मात्र सीमित नरहेर पारिवारिक पुनर्मिलन, आपसी सद्भाव, अग्रजको आशीर्वाद र सामाजिक सम्बन्ध प्रगाढ बनाउने पवित्र अवसरका साथै असत्य माथि सत्यको विजयको उत्सव भएको बताउनुभयो।
अध्यक्ष ज्ञानेन्द्र राई व्यक्तिगत भ्रमणको सिलसिलामा नेपालमा रहनु भएकाले उपाध्यक्ष इन्डीसेन राईले कार्यवाहक अध्यक्षको रूपमा कार्यक्रमको अध्यक्षता गर्नुभएको थियो।
कार्यक्रममा डेपुटी मेयर स्यारोन ज्याक्सन, रोचेस्टर एन्ड स्ट्रुडकी (लेबर पार्टी) सांसद लरेन एडवर्ड्स, मेडवे काउन्सिल लिडर भिन्स मापल, काउन्सिलर ग्यारेथ माइलोन, सल्लाहकार तथा पूर्व मेयर काउन्सिलर श्रीमती निना गुरुङ, पूर्व मेयर काउन्सिलर मारियन नास्ट्रोभ र उहाँकी धर्मपत्नी काउन्सिलर ल्युबोभ नास्ट्रोभ लगायत विशिष्ट अतिथिहरूको उपस्थिति थियो। अतिथि, नेपालबाट पाल्नुभएका पाहुना र नयाँ सदस्यहरूलाई कार्यवाहक अध्यक्ष र सह-कोषाध्यक्षले खादा र ब्याज लगाएर सम्मान गर्नुभएको थियो।
सोही अवसरमा शैक्षिक र खेलकुदमा उत्कृष्टता हासिल गर्ने युवाहरूलाई सम्मान गरिएको थियो। जीसीएसईमा ८ A*, २ A र B ल्याउने प्रतीक जङ राई (रोशन राई र दिव्या राईका सुपुत्र), ३ A* ३A ल्याउने संयम राई (सोम राई र रोशनी राईका सुपुत्र), ए-लेभलमा कम्प्युटर साइन्स A*, म्याथ A, फिजिक्स A र फर्दर म्याथमा B ल्याउने एरोज राई (सृष्टि राई र भूमिराज राईका सुपुत्र), इभा राई २ Distinction १A ल्याउने (चन्द्रावती तथा रामचन्द्र राईकी सुपुत्री), स्तम्भ राई २ Distinction* र १ A ल्याउने (ईश्वर चाम्लिङ र दिप्तिया राईका सुपुत्र) हरूलाई उत्कृष्ट शैक्षिक उपलब्धिका लागि प्रशंसा-पत्र प्रदान गरियो।
२४ घण्टाभित्र ‘थ्री पिक च्यालेन्ज’ पूरा गर्ने शशिकाला राई, आशा थापा, कृष्णा गुरुङ र ५० किमीको ‘केन्ट डाउन अल्ट्रा च्यालेन्ज’ पूरा गर्ने सल्लाहकार चेत थापालाई पनि विशेष सम्मान गरिएको थियो।
सांस्कृतिक सचिव जयकला राईको संयोजनमा भएको सांस्कृतिक कार्यक्रममा सागर गुरुङ, नुवामी राई र सर्बिना मगरले ‘सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल’ गीतमा नृत्य तथा दुर्गा राई, नुवामी राई र सर्बिना मगरले लोकप्रिय नेपाली गीतहरूमा आकर्षक नृत्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा सूर्य विक्रम राई, सुमित्रा राई, दृश्या राई लगायत गायक गायिकाहरूले गीत प्रस्तुत गर्नु भएको थियो।
कार्यक्रमको मुख्य सांगीतिक आकर्षणमा “इन्टेक ९९” का प्रसिद्ध गायक मिलन गोम्जा लामा हुनुहुन्थ्यो। उहाँले आफ्नो चर्चित गीत ‘मनकामना केवल कार’ लगायत नेपाली तथा हिन्दी गीतहरू प्रस्तुत गरी दर्शकलाई झुमाउनु भएको थियो। मेडवे काउन्सिल लिडर भिन्स मापलले समेत ‘द बीटल्स’ को गीत प्रस्तुत गरी थप रौनक थप्नुभएको थियो।
सहभागीहरूका लागि गोर्खा ब्रदर्स रेस्टुरेन्टद्वारा सेल रोटी, पोर्क भुटुवा, चिकेन करी, मासको दाल र खसीको मासु (Goat Meat Curry) लगायत परम्परागत परिकारको व्यवस्था गरिएको थियो।
कार्यक्रमको अर्को आकर्षण पुष्पा राई र शशि राईले राफल ड्र सञ्चालन गर्नुभएको थियो। विभिन्न प्रायोजकहरू लगायत स्थानीय ग्रोसरी पसल भारत स्टोर्सद्वारा उपलब्ध भौचर र नगद पुरस्कार समेत रहेको राफल ड्रमा धेरैले आकर्षक पुरस्कार जित्नु भएको थियो।
औपचारिक कार्यक्रमको समापन मन्तव्य राख्नु हुँदै कार्यवाहक अध्यक्ष इन्डीसेन राईले कार्यक्रम सफल पार्न सहयोग पुर्याउनुहुने, अतिथि, राफल पुरस्कार प्रायोजक, कार्यसमिति र क्याटरिङ टोलीलाई धन्यवाद दिनुभयो। मौकाको सदुपयोग गर्दै उहाँले गोर्खा नेपाली समाज मेडवेले गर्दै आएको वार्षिक कार्यक्रम लगायतका विषयहरूका बारेमा थप जानकारी दिँदै आगामी कार्यक्रमको छोटो सूचना सहित कार्यक्रम समापन गर्नुभएको थियो।
– भूमिराज राई , थप फोटोहरू हेर्न यहाँ क्लिक गर्नुहोस्।


