खोटाङ । काठमाडौँबाट खोटाङ आउँदै गरेको को १ ज २९७६ नम्बरको सुमो सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सुनकोशी नदीमा खस्दा मृत्यु हुने तीन जना र बेपत्ताको पहिचान खुलेको छ।
मृत्यु हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित दुवेकी २१ वर्षीया युपना राई, सोही ठाउँकी १९ वर्षीया दिव्या राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीकी १६ वर्षीया स्वस्तीका विश्वकर्मा छन्।
लफ्याङका स्थानीय जनक राईले दिएको जानकारीअनुसार युपना र दिव्या काठमाडौँ बसेर अध्ययनसँगै सामान्य रोजगारीको काम गर्दै आउनुभएको थियो । स्वस्तीका काठमाडौँ बसेर माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारीमा थिए।
गए राति करिब २ः३० बजे नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब १५० मिटर तल सुमो खस्दा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो।
दुर्घटनाका परी तीन बेपत्ता हुनुहुन्छ । जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीका अनुसार बेपत्ता हुनेमा लफ्याडका २८ वर्षीय हरि पुर्कुटी, २६ वर्षीय सन्तोषकुमार मुग्राती र २२ वर्षीया अप्सरा राई छन्।
दुर्घटनाम परी घाइते हुनेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी शिवानी राई र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका १३ वर्षीय अङ्कित विश्वकर्मा, चालक ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–२ का २९ वर्षीय आशिष विश्वकर्मा छन् । प्रहरीले दिएको जानकारीअनुसार घाइतेहरूमध्ये चालक आशीष बेहोस छन् भने, सम्झनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सिन्धुलीस्थित स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि सम्झनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाएको प्रहरीले जनाएको छ।
घाइते शिवानी र अङ्कितको सिन्धुली जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी निराजन बस्नेतले जानकारी दिएका छन्।
काठमाडौँबाट गए राति करिब ११ बजे हिँडेको सुमोमा चालकसहित १० जना यात्रु सवार रहेको प्रहरी जनाएको छ । सुमोका चालक निदाएर दुर्घटना भएको हुन सक्ने घटनास्थल पुगेका प्रहरीको अनुमान छ। रासस


